मेजर रिटायर्ड शान्त पुन मगर ःMember of Bristish Empire (MBE) बाट विभूषित भएका छन् । उनी बेलायतको नयाँ वर्ष सन् २०१८ को पावन अवसरमा बेलायतकी महारानी एलिजाबेथ दित्तीयद्वारा विभूषित भएका हुन् । मेजर रिटायर्ड शान्त पुन ःMilitary Academy Shrivenham मा संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयअन्तर्गत निजामति सेवामा स्टाफ अफिसर ग्रेड टु मा कार्यरत छन् भने मगर संघ युके च्यारिटी कमिसनका संरक्षक पनि हुन् ।
मेजर रिटायर्ड शान्त पुन मगरको पुख्र्यौली घर म्याग्दी जिल्ला, शिख चित्रे तथा स्थायी घर पोखरा हो भने हाल बेलायतस्थित स्वीन्डन भन्ने स्थानमा श्रीमती नन्दा पुन र दुई छोराहरुसँग बसोबास गर्दै आएका छन् । मेजर शान्त पुनको जन्म सन् १९५६ मा काठमान्डूको पकनाजोलमा भएको हो । स्वर्गीय पिता इस्पेक्टर हेमबहादुर पुन र स्वर्गीय माता सर्मदेवी पुनको कोखबाट जन्मेका शान्त पुनको प्रारम्भिक शिक्षा काठमान्डूको लैनचौरबाट सुरु भएको हो । इस्पेक्टर हेमबहादुर पुनको जागिरको सिलसिलामा उनले नेपाल अधिराज्यको धेरै स्कुलहरुमा अध्ययन गरे तापनि प्रवेशिका परीक्षा भने भैरहवाबाट उत्तीर्ण गरेका हुन् । प्रवेशिका परीक्षा उत्तीर्ण भएपश्चात् उनी काठमान्डूस्थित त्रिचन्द्र कलेजमा आइएस्सीमा अध्ययन गर्नेक्रममा घरका दबाब, आफ्नै पनि इच्छा तथा साथीभाइको लहैलहैमा ब्रिटिस आर्मीमा भर्नाका लागि छाती नाप्न पुगेका थिए ।
मेजर शान्त पुनले हङकङस्थित मलाया लाइन्समा ब्रिटिस आर्मीको आधारभूत तालिम लिएपश्चात् पल्टन रोज्नेक्रममा उनले कुइन्स गोर्खा सिग्नल भन्ने पल्टन रोजेका थिए । क्वीइन्स गोर्खा सिग्नलमा गएपश्चात् सिग्नलको आधारभूत तालिम लिएका थिए । सो तालिममा सर्वोकृष्ट नतिजा ल्याएपछि रेजिमेन्टले उनलाई टेक्निसियनमा छनौट गरेको थियो । टेक्निसियनमा कार्यरत रहँदा सञ्चारको प्रविधिसम्बन्धी विभिन्न तालिमहरु सफलतापूर्वक सम्पन्न गरेपश्चात् विभिन्न पदहरुमा पदोन्नति हुँदै सन् १९९२ मा कमिशन भएका हुन् ।
इमान्दार, बफादार तथा कर्तव्यनिष्ट मेजर शान्त पुनले Troop Commander, Operation Officer, Motor Transport Officer, Officer Commanding Brunei Signal Ttoop, Officer Commanding Nepal Signal Troop, Squadron Second In Command जस्ता धेरै महत्वपूर्ण पदहरु तथा पोष्टहरु सम्हाल्दै सन् २००१ नोभेम्बरमा अवकाश लिएका थिए । उनको नोकरीको दौडानमा उनी हङकङ, ब्रनाई, सिंगापुर, थाइल्यान्ड, मलेसिया, अस्ट्रेलिया, क्यानाडा, जर्मनीलगायत संसारका धेरै देशहरुमा भ्रमण गरेका छन् भने सन् १९९६ मा बोज्निया र सन् २००० मा कोसोभोमा संयुक्त राष्ट्रसंघको तर्फबाट शाति सेनामा काम गरेका छन् ।
धेरै नबोल्ने, बोल्न प¥यो भने भाँती पु¥याएर बोल्ने, बेला बेलामा मुसुक्क मुसुक्क हाँस्ने तथा भलाद्मी स्वभावका शान्त पुनले श्रीमती नन्दा गुरुङको मन पगाल्न तथा जालमा पार्न धेरै समय लागेन जसको फलस्वरूप विवाह बन्धनमा तथा श्रीमान् श्रीमतीमा परिणत भएको थियो । मेजर शान्त पुनलाई फुर्सदको समयमा समाजसेवामा ब्यास्त हुन मन पर्छ ।
प्रस्तुति : चिम्खोले काइँला






