लन्डन ४ जुलाई २०२२ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेको अध्यक्षमा राज श्रेष्ठ चयन भएका छन् ।
डायमन्ड बुध्दिष्ट सेन्टर वुलीच, लन्डनमा जुलाई ३ तारिख आइतबार सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । माया गुरुङ उपाध्यक्ष, मन्जु भण्डारी महासचिव, राधा सापकोटा सचिव, सचिन गुरुङ कोषाध्यक्ष र प्रतिमा केसी सहकोषाध्यक्ष बनेका छन् ।
सदस्यहरुमा डा रवीन्द्र गुरुङ, बिसन थापा, मदन थापा, कुमार केसी, अर्चना गुरुङ, लय प्रसाईं र रबिन जोशी चुनिएका छन् । सन् २०२२-२४ का लागि चयन भएको नयाँ कार्यसमितिलाई प्रमुख अतिथि साहित्यकार खगेन्द्र नेपालीले पद तथा कार्य लगनशीलताको शपथ खुवाए ।
यसअघि अनेसास यूकेले आदिकवि भानुभक्त आचार्यको १०८औं तथा बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरको ९१ औं जयन्ती मनाएको छ । संस्थाकी अध्यक्ष लक्ष्मी राई (लारा) को सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष तथा कार्यक्रम संयोजक राज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
विशेष अतिथि बेक्स्लेहिथ समाजका अध्यक्ष तथा ग्रीनीच बरोका काउन्सिलर जीत रानाभाटले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे । सचिव मन्जु भण्डारीबाट संचालित कार्यक्रममा सल्लाहकार सुमलकुमार गुरुङले नेपाली भाषा र राष्ट्रिय एकतामा आदिकवि आचार्यको योगदान अद्वितिी रहेकोले उनी स्तुत्य रहेको बताए ।
सल्लाहकार डा. रुपक श्रेष्ठले डायस्पोराका आदिकवि मानन्धर बेलायतमा ६० को दशकदेखि नेपाली भाषा, साहित्य, र समाज सेवामा सबैको लागि प्रेरणादायी व्यक्तित्व रहेको स्मरण गराउंदै स्व मानन्धर उनका नौ कृतिहरुमा सदा अमर रहने बताए ।
श्रेष्ठले स्वर्गीय मानन्धरद्वारा स्थापना भइ सन् २०१३ बाट हरेक वर्ष प्रदान गरिंदै आएको अनेसास सुप्रमा–इप्रमा पुरस्कार यस वर्ष ‘जिन्दगी’ काव्यकृतिका लागि पुरस्कृत माया गुरुङप्रति पुरस्कार संचालक स्व मानन्धर पत्नी जानकी तथा परिवारको तर्फबाट प्राप्त बधाई तथा शुभकामना सन्देश सुनाए ।
प्रमुख अतिथी साहित्यकार खगेन्द्र नेपालीले स्व मानन्धरसंगको आफ्नो अन्तरसम्बन्ध र विविध पक्ष संस्मरण गर्दै बहुआयामिक ब्यक्तित्वबाट स्थापित पुरस्कारबाट सम्मानित हुन पाउनु गर्वको कुरा हो भन्दै पुरस्कृत माया गुरुङलाई पुरस्कारसहित बधाई दिए । पुरस्कृत गुरुङले प्राप्त पुरस्कारले सिर्जनाका लागि उर्जाका साथै जिम्मेवारी थपिएको बताइन् ।
चलचित्रकर्मी सनम वैरागले स्वर्गीय मानन्धरको कथामा आधारित उनको आफ्नै निर्देशनमा बनेको चलचित्र ‘कैदीको पत्र’ सेप्टेम्बरबाट प्रदर्शन हुने जानकारी गराए ।






