काठमाडौं नोभेम्बर ३ ।

बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार भुटानलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
ढाकामा भएको खेलमा दश खेलाडीमा सिमित भएको भुटान विरुद्ध नेपाललाई फराकिलो जित दिलाउन वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरिन् । नेपालले भुटानविरुद्ध पहिलो हाफमा ४ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो । वर्षाले खेलको पहिलो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
१७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी वर्षाले ३४ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने नेपाललाई ३-० को अग्रता दिलाइन् । लगत्तै अर्को मिनेटमा वर्षाले चौथो गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो । शुक्रियाले ६५ औं र ७२औं मिनेटमा गोल गरिन् । यस्तै सेनुले ८५ औं मिनेटमा गोल गरिन् । खेलको ६७ औं मिनेटमा भुटानी गोलकिपर दिक्षिता राईले रातो कार्डको सामना गरेपछि भुटान दश खेलाडीमा सिमित भएको थियो ।
नेपालले जितबाट च्याम्पियनसिप सुरु गर्दै ३ अंक जोडेको छ । भुटानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटान बंगलादेशसँग ८-० ले पराजित भएको थियो । ३ टिम सहभागी प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा हुनेछ र अन्तिममा शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ । नेपालले दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ ।
नेपालकी मुख्य प्रशिक्षक भगवती राना मगरले भुटान विरुद्ध फरवार्डले राम्रो खेलेको बताउँदै मिडफिल्डमा सुधार गर्नुपर्ने बताइन् ।






