एजेन्सी नोभेम्बर ४ ।

आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएको छ ।
एडिलेडमा शुक्रवार भएको खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको हो । अस्ट्रेलियाले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६४ रनमात्र बनाउन सक्यो । उसका लागि राशिद खानले नटआउट ४८, गुलाबदिन नइबले ३९ र रहमनुल्लाह गुरबाजले ३० रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवुड र एडम जम्पाले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६८ रन बनायो । उसका लागि ग्लेन म्याक्सवेलले नटआउट ५४ र मिचेल मार्शले ४५ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नवीन उल हकले तीन र फजलहक फरुकीले दुई विकेट लिए ।
यो जितसँगै अस्ट्रेलिया पाँच खेलमा सात अङ्कसहित समूह ए को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अस्ट्रेलियाले सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । अब उसले शनिवार हुने इङ्ग्ल्यान्ड र श्रीलङ्काको खेल कुर्नुपर्ने हुन्छ । त्यो खेलमा इङ्ग्ल्यान्ड विजयी हुँदा अस्ट्रेलिया स्वतः बाहिरिने छ भने इङ्ग्ल्यान्ड पराजित हुँदा अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । यही समूहबाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । अफगानिस्तान भने दुई अङ्कसहित तालिकाको पुछारमा छ ।






