नेपालमा बसोबास गर्ने लार्के जाति गुरुङ रामप्रकाश ‘समथिङ’

SHARE:

गुरुङ रामप्रकाश समथिङ

नेपालमा बसोबास गर्ने जातिको थर यतिका धेरै कसरी बन्यो खोजीको विषय नै हुन सक्छ । एउटा जातिको थरहरु नै त्यही जातिभित्रको मान्छेहरुलाई थाहा हुदैन । जस्तो लिम्बू जातिको ताप्लेजुङ जिल्लामा बसोबास गर्नेको थर काठमाण्डौतिर बस्ने लिम्बू जातिले सन्दा हैन लिम्बूको थर यस्तो पनि हुन्छ र भन्नेहरु पनि भेटिन्छ । नेपालमा धेरै जाति र जातिभित्रको थरहरु बसोबासको हिसाबले पनि नामाकरण भएको हुन सक्ने धेरै जनाले अड्कल गरेका छन् । साच्चै हो की जस्तो पनि देखिन्छ । ताप्लेजुङ जिल्लाको नाल्बो गाउँ विकास समितिमा बस्ने नाल्बो थर लिम्बू जातिभित्रको एक थरी लिम्बू हो । त्यस्तै लार्के जाति पनि स्थान र बसोबासको कारणले जाति नामाकरण भएको हुन सक्ने अनुमान गरिएको पाइन्छ । गोरखा जिल्लाको उत्तरी क्षेत्रमा लार्के भन्ने गाउँ नै छ । त्यही लार्के भन्ने गाउँमा परापूर्व कालदेखि बस्दै आएकोले उनीहरुलाई लार्के भनिएको हो भन्नेहरु पनि छन् । तर स्थानीय भाषामा उनीहरुलाई नुब्रिवास भन्ने गरेको पाइन्छ । अल्पसंख्यक जातिमा परेरै होला नेपाल सरकारले यी जातिलाई सिमान्तकृत समूहमा सूचीकृत गरेको पनि ।

लार्के जाति हिमाली क्षेत्रमा बस्ने एक जनजाति हो । उनीहरुको रहनसहन देखि लिएर संस्कार संस्कृतिहरु तिब्बतियनहरुसंग मिल्ने गरेको देखिन्छ । तरै पनि उनीहरु सोलुखुम्बु क्षेत्रमा बस्ने शेर्पा जातिसंग निक्कै नजिकिदो छ । लार्के जातिले बोलने भाषा भोटे हो । उनीहरु मध्ये कै कसै कसैले आफूलाई गुरुङ पनि भन्न थालेका छन् । गुरुङ जातिसंग यिनीहरुको धर्म मात्र मिल्छ बौद्ध धर्म । तर अरु रहनसहन र लगाउने कपडासम्म मिलेको पाइन्न् ।

शिक्षा क्षेत्रमा निक्कै पछाडि परेको जातिमा पर्दछ लार्के जाति । उनीहरुको साक्षरता प्रतिशत हेर्ने हो भने पनि दुई प्रतिशत नाघ्दैन । उच्च शिक्षा हासिल गरेको त लार्के जातिमा भेटन मुश्किलै पर्छ । थोरै कृषि पेशामा संलग्न र धेरै व्यापारमा लागेका लार्के जातिको मुख्य व्यापारीक केन्द्र तिब्बत हो । उनीहरुले उत्पादन गरेको सामान तिब्बततियन बजारमा लगेर बेच्ने । अनि आफूलाई चाहिने र व्यापार गर्ने सामानहरु त्यहीबाट किनेर नेपाल ल्याउने गर्दछ । कृषिमा आश्रित हुँदा आफ्नो जग्गा जमिनमा उत्पादन गरेको अन्नले दुई चार महिनासम्म पनि खान नपुग्ने भएकोले व्यापार गर्न बाध्य छन् उनीहरु ।

लार्के जाति जन्म, छेवर, विवाह र मृत्युलाई संस्कारको रुपमा मनाउने गर्दछ । उनीहरु बौद्धमार्गी भएकाले मानिसको मृत्यु भएपछि लामाको निर्णय अनुसार लासको अन्त्येष्टि गर्दछन् । लार्के जातिमा मान्छेको मृत्यु पश्चात तुरुन्तै अन्त्येष्टि गर्न लाने चलन हुदैन । लामाको साइत अनुसार मात्र अन्त्येष्टि गर्ने चलन छ । मरेकै दिन अन्त्येष्टिको साइत नजुर्न पनि सक्छ । साइत जुरेपछि पनि लासलाई लगेर जलाउने, गाड्ने वा टुक्रा–टुक्रा पारेर चिल र गिद्धलाई ख्वाउने सोही अनुसार गर्दछ । लासलाई जलाउने हो भनेर दाउराको व्यवस्था, गाड्ने हो भने खाडल खन्ने र टुक्रा–टुक्रा पारेर चिल वा गिद्धलाई ख्वाउने हो भने सोही अनुसार व्यवस्था गर्नु पर्ने हुन्छ । ऐले हिमाली क्षेत्रमा बसोबास गर्ने जातिहरुले चिन्ता पनि व्यक्त गर्न थालेका छन् । लामाको साइत अनुसार लासलाई टुक्रा–टुक्रा पारेर गिद्धलाई ख्वाउने चलन परम्परादेखिको चलन हो । तर ऐले गिद्धहरु हिमाली क्षेत्रमा पाउन छाडिसकेको हुनाले समस्या आउनु पनि स्वभाविकै हो । विषाक्त औषधीका कारण गिद्धहरु एकदमै लोप हुन थालेपछि समस्या देखिन थालेको हो । लार्के जातिको जन्मदेखि मृत्युसम्मको संस्कारहरुमा लामाको प्रयोग गर्दछ । त्यसैले पनि होला उनीहरु लामालाई गुरुको रुपमा पूज्ने गर्दछ ।

सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु वैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चाम्लिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक ल्होपा जातिबारे लेख प्रकाशन गरिनेछ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!