काठमाडौं २१ मार्च २०२३ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा गर्ने दावी गरेका छन् ।
मंगलबार ५८औँ अन्तरराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस २१ मार्चको सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका हुन् । उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झने केही कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले दलित समुदायका माग र मुद्दाहरुको सम्बोधन अहिलेको परिस्थितिमा आफूले बाहेक अरुले गर्न नसक्ने दावी पनि गरेका छन् ।
उनले भने‚ ‘अहिले भर्खरै पर्सुरामजीले २० सूत्रीय माग भनेर जे राख्नुभएको छ। मलाई लाग्छ, नेपालको आजको मितिमा, म सधैँ भन्दिनँ, आजको दिनमा मैले गर्न सके त्यो अगाडि जान्छ। अरुले गर्ने स्थिति मैले देखेको छैन। त्यसकारण म तपाईंहरुको अगाडि आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहन्छु भने मेरो यो कार्यकालमा दलितहरुले भविष्यसम्म, सयौँ वर्षसम्म सम्झिने केही घोषणा म गर्दैछु‚ म गर्नेछु। यो विश्वास र प्रतिबद्धता म तपाईंहरुको अगाडि व्यक्त गर्न चाहन्छु।’
प्रधानमन्त्री प्रचण्डले दलित समुदायको हक र अधिकारको निम्ति सिंगो राज्य र राज्यका निकाय जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए। उनले दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने बताए । सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उनको भनाई छ। यसका निम्ति आवश्यक भूमिका खेल्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
उनले दलित समुदायले आज पाएका संवैधानिक र कानूनी हक, अधिकारहरु जनयुद्धको उपलब्धिको रुपमा आएको दावी गरेका छन् ।