एजेन्सी २३ मार्च २०२३ ।
रुसी आक्रमणबाट ध्वस्त भएको युक्रेनमा पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान विश्व बैंकले गरेको छ ।
युद्धबाट भत्किएका भग्नावशेषहरु हटाउन मात्रै ५ अर्ब डलर लाग्ने विश्व बैंकले अनुमान गरेको हो । युद्ध अझै जारी रहेकाले कहाँ कति क्षति पुग्छ भन्ने टुंगो छैन । तर युद्धबाट अहिलेसम्म ध्वस्त भएका संरचनाको पुनर्निर्माण गर्न कम्तिमा १० वर्ष लाग्ने र त्यसका लागि ४ सय ११ अर्ब डलर लाग्ने विश्व बैंक, युक्रेन सरकार, युरोपियन युनियन र राष्ट्र संघको संयुक्त अध्ययनले देखाएको हो ।
गत सेप्टेम्बरसम्ममा करिब साढे ३ सय अर्ब डलर लाग्ने अनुमान गरिएकोमा ६ महिनामा ६० अर्ब बढीले खर्चको अनुमान बढेको जनाइएको छ । युद्धबाट २० लाख घरमा क्षति पुगेको, ५ वटा मध्ये एउटा सार्वजनिक भवन ध्वस्त भएको, ६ सय ५० वटा एम्बुलेन्स क्षति ग्रस्त भएको र अहिलेसम्म ४ सय ६१ जना बालबालिकासहित ९ हजार ६ सय ५५ जना सर्वसाधारणको मुत्यु भएको तथ्यांक पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
युद्धका वावजुद युक्रेनले अस्पताल, विद्यालय र अन्य अत्यावश्यक सेवा भने सुचारु राखेको जनाइएको छ ।