काठमाडौं २५ मार्च २०२३ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन् ।
आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमति र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारेका छन् । लायन्स क्लव अफ इन्टरनेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संघ, संस्था र नागरिक अगुवाहरुलाई समेत आग्रह गरे ।
मुलुकमा विद्यमान निराशालाई चिर्दै अघि बढ्ने काममा सरकार लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस काममा लायन्स जस्ता सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले दूरदराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाहरुको नेतृत्व विकास गर्नेगरी नीति, कार्यक्रम र कार्ययोजना बनाउन पनि लायन्स क्लबहरुको ध्यानाकर्षण गराए । लायन्स क्लवहरुले सहरमा मात्रै केन्द्रित नभई पछि परेका÷पारिएका युवाहरुलाई पनि अघि बढाउने गरी कार्यहरु अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुसार सामाजिक संघ, संस्थाहरुले पनि आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउन जरुरी रहेको समेत बताए। त्यस अवसरमा उनले विपदमा परेका बेला लायन्स क्लवहरुले खेलेको भूमिका प्रशंशनीय रहेको पनि बताए ।