प्रश्न दोहोरो नागरिकताको
वीर प्रसाद घर्तिमगर – रुकुम पुर्व भूमे १ लुगुम हाल बेलायत
१. दोहोरो नागरिकता भनेको के हो ?
सामान्य भाषामा भन्नु पर्दा कुनै व्यक्तिले एक भन्दा बढी देशको नागरिकता प्राप्त गरेको छ भने त्यसलाई दोहोरो नागरिकता भनिन्छ जसलाई अंग्रेजीमा Dual Citizenship वा Dual Nationality भन्ने गरिन्छ । संसारका अधिकांश देशहरुमा दोहोरो नागरिकताको प्रावधान रहेकोछ तर यसका प्रावधानहरु भने देश अनुसार फरक हुन सक्छन त्यसैले दोहोरो नागरिकता सम्बन्धि नीति र प्रावधानहरु सबै एकै प्रकारका नभएर फरक प्रकारका छन् जुन देशहरुले आफ्नो आवश्यकता र अनुकुलता अनुसार प्रदान गर्ने गर्दछन ! जसको प्रमुख कारणहरु देशमा दक्ष जनशक्ति भित्र्याउने, बिदेशी आर्थिक लगानी भित्र्याउने, बिशेष सम्बन्धहरुलाई कायम राख्ने, न्यून जनसंख्यालाई बढाएर देशको उत्पादन शक्तिलाई बढाउने आदि हुन सक्छन् ।
त्यसैले दोहोरो नागरिकता भन्दैमा सबै एकैखाले हुँदैनन् तर आम नेपालीहरुको बुझाईमा दोहोरो नागरिकता भने पछि सोलोडोलो सबैलाई एकै प्रकारले बुझेको देखिन्छ र नेपालले दोहोरो नागरिकताको नीति अपनाएमा नेपालमा बिदेशीहरुको ओइरो लाग्ने र देशलाई हानी हुन जाने भन्ने बुझाई छ जुन नितान्त गलत बुझाई हो । यिनै कुराहरुमा थप प्रकाश पार्नको लागि दोहोरो नागरिकताको बारेमा मैले खोजतलास गरेर बुझेका तथ्यगत कुराहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ताकि यस बारेमा सर्वसाधारण आम नेपालीहरुलाई पनि केहि ज्ञान होस् ।
१. दोहोरो नागरिकताको प्रकार:
दोहोरो नागरिकता भने पछि सामान्यतया जुन देशमा दोहोरो नागरिकता दिने नियम छ त्यहाँ मात्रै यो कुरा लागु हुने कुरा हो त्यसैले दोहोरो नागरिकता नदिने देशमा यो कुरा लागु हुँदैन । दोहोरो नागरिकता दिने देशहरुमा पनि दोहोरो नागरिकताको फरक फरक नियम र प्रावधानहरु छन् जुन यस प्रकारका छन् :
क. बसाईको आधारमा दिईने दोहोरो नागरिकता:
कुनै देशमा गएर एउटा निश्चित अवधि बसे पछि प्राप्त गर्न सकिने दोहोरो नागरिकतालाई बसाईका आधारमा दिईने दोहोरो नागरिकताको रुपमा लिन सकिन्छ जसको लागि पहिलो देशको नागरिकता त्याग्नु पर्दैन । पिआर प्राप्त पछि वा बैवाहिक सम्बन्धका कारणले प्राप्त हुने नागरिकता यस प्रावधानमा पर्दछन् । दोहोरो नागरिकता नीति लागु भएका अधिकांश देशहरुमा यो अभ्यास रहेको पाइन्छ । यस्तो प्रकारको दोहोरो नागरिकताको नीति लागु भएका प्रमुख देशहरुमा अमेरिका, क्यानाडा, बेलायत, बेल्जियम, पोर्तुगल, फ्रान्स, ईटाली, डेनमार्क, फिनल्याण्ड, स्विडेन, ग्रिस, आयरल्याण्ड, अस्ट्रेलिया, न्युजील्याण्ड, ब्राजिल, दक्षिण कोरिया, थाइल्याण्ड, फिलिपिन्स, श्रीलंका, इराक साथै अधिकांश उत्तर र दक्षिण अमेरिकन देशहरु, अधिकांश युरोपियन देशहरु, अधिकांश अफ्रिकन मुलुकहरु र अधिकांश एशियाली मुलुकहरुमा बसाईका आधारमा दोहोरो नागरिकता प्रदान गरिने प्रावधान छ ।
ख. बंशजको आधारमा दिईने दोहोरो नागरिकता:
कुनै कुनै देशहरुमा बंशजको आधारमा मात्रै दोहोरो नागरिकता दिने प्रावधान छ, उदाहरणका लागि कुनै बिदेशी नागरिकले कुनै देशको बंशज नागरिकको सन्तान भएको प्रमाण पेश गरेमा उक्त देशको दोहोरो नागरिकता दिने प्रावधान छ । यस्तो दोहोरो नागरिकताको प्रावधान भएका देशहरुमा ताईवान, हंगकंग, स्पेन, क्रोएसिया, बुल्गेरिया, स्लोभेनिया जस्ता देशहरु पर्दछन् ।
ग. बिशेष देशहरुलाई दिइने दोहोरो नागरिकता:
कुनै देशमा बिशेष देशका नागरिकहरुलाई मात्रै दोहोरो नागरिकता दिने प्रावधान छ; जस्तै अर्जेन्टिनाले ईटाली र स्पेनका नागरिकलाई मात्रै दोहोरो नागरिकता दिन्छ भने जर्मनीले स्विट्जरल्याण्ड र ईयु नागरिकलाई मात्रै आफ्नो देशको दोहोरो नागरिकता दिन्छ । यस्ता अन्य देशहरुमा लात्भिया र पाकिस्तान पनि पर्दछन् ।
घ. बिशेष परिस्थितिमा दिईने दोहोरो नागरिकता:
हल्याण्डमा दोहोरो नागरिकताको प्रावधान नभएता पनि बिशेष परिस्थितिमा दोहोरो नागरिकता प्रदान गर्न सकिने प्रावधान छ ।
ङ. बिशेष समुहलाई दिईने दोहोरो नागरिकता:
जर्मनीमा दोस्रो विश्व युद्धमा नाजी जर्मनीको उत्पीडनमा परेका यहुदीका सन्तानहरुलाई दोहोरो नागरिकता दिन सकिने प्रावधान छ ।
च. आर्थिक लगानी कर्तालाई दिईने दोहोरो नागरिकता:
कुनै देशहरुमा आर्थिक लगानी गरेर देशको अर्थतन्त्रमा योगदान गर्न सक्नेहरुलाई पनि निश्चित अवधि पश्चात दोहोरो नागरिकता दिने प्रावधान छ जुन देश अनुसार लगानी कम्तिमा १ लाख डलर देखि माथी रहेको पाइन्छ । यस्ता प्रावधान भएका देशहरुमा टर्की, पोर्तुगल, ग्रिस, साइप्रस, मोन्टेनेग्रो आदि पर्दछन् ।
दोहोरो नागरिकताको प्रावधान नभएका देशहरु:
विश्वका अधिकांश देशहरुमा कुनै न कुनै प्रकारको दोहोरो नागरिकताको प्रावधान रहेता पनि केहि देशहरुमा भने दोहोरो नागरिकताको प्रावधान नरहेको पाइन्छ, जसमा चीन, भारत, नेपाल, जापान, उत्तर कोरिया, क्युबा, अफगानिस्तान, ईरान, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन, लिबिया, सिंगापुर, बर्मा, इण्डोनेशिया, मंगोलिया, युक्रेन, नोर्वे आदि पर्दछन् ।
दोहोरो नागरिकताका फाइदाहरु र बेफाइदाहरु:
दोहोरो नागरिकताका फाइदा र बेफाइदाहरु देश अनुसार फरक हुन सक्छन् तै पनि उचित नीति नियम लागु गरेर प्रदान गरेको खण्डमा यसबाट बेफाइदा भन्दा फाइदा नै धेरै हुने देखिन्छ जुन समग्रमा यस प्रकार छन् :
दोहोरो नागरिकता प्रदान गर्ने देशलाई हुन जाने फाइदाहरु;
विदेशबाट दक्ष जनशक्ति भित्र्याएर देशको बिकासमा योगदान पुराउन सकिने,
विदेशबाट आफ्नो देशमा शिक्षा हासिल गरेर उच्च दक्षता प्राप्त व्यक्तिहरुलाई देशमै राखेर देश र जनताको सेवा गराउन सकिने,
बिदेशीहरुलाई आर्थिक लगानी गर्न प्रोत्साहित गरेर देशको अर्थतन्त्र उकास्न सकिने,
बिशेष सम्बन्ध भएका देशहरुसितको नागरिक सम्बन्धलाई कायम राख्न सकिने,
देशमा न्यून जनसंख्याको कारण जनशक्तिको अभाव भएको खण्डमा बिदेशी नागरिकहरुलाई भित्र्याएर देशको जनशक्ति बढाएर देशको उत्पादन शक्ति बढाउन सकिने आदि ।
दोहोरो नागरिकता प्राप्त गर्ने नागरिकलाई हुने फाईदाहरु;
समृद्ध देशको पासपोर्टले अन्तरराष्ट्रिय यात्रामा सहजता
समृद्ध देशको स्वास्थ साथै सामाजिक सुबिधा लिन सकिने
रोजगार तथा ब्यापार बिजिनेस जस्ता कुरामा बढी अवसरहरु लिन सकिने
परिवारको लागि सुरक्षित भविष्य चुन्न सकिने
सन्तानको लागि राम्रो र गुणस्तरीय शिक्षा हासिल गर्न सकिने
राम्रो कुटनीतिक सहयोग र सुरक्षा पाउन सकिने
माथीका कुरालाई नेपालको हकमा तुलना गरेर हेर्दा कुनै नेपाली नागरिकले विदेशको दोहोरो नागरिकता लिँदा धेरै कुरामा सुबिधा पाउन सक्छन् जस्तै;
१. नेपालको पासपोर्टले विदेश यात्रा गर्न एकदमै कठिन मात्रै होइन कुनै अवस्थामा सम्भव पनि हुँदैन किनकि कतिपय देशले त भिषा नै दिदैनन् तर कुनै समृद्ध देशको दोहोरो नागरिकता लिएको छ भने त्यो देशको पासपोर्ट लिएर जुनै पनि देश सहजै जान सकिन्छ ।
२. समृद्ध देशहरुमा स्वास्थ र सामाजिक सुबिधाहरुको व्यवस्था नेपाल भन्दा धेरै राम्रो हुन्छ उदाहरणका लागि निशुल्क स्वास्थ्य सेवा, बेरोजगार साथै सामाजिक सुरक्षा भत्ता, शिक्षा आदि जुन नेपालको भन्दा धेरै राम्रो छ ।
३. समृद्ध देशहरुमा पाइने रोजगार साथै ब्यापार बिजिनेसको हकमा पनि नेपाल भन्दा धेरै राम्रो र सुरक्षित हुन्छ । उदाहरणका लागि धेरै तलब पाइने, बेरोजगार नहुने, ब्यापार बिजिनेस पनि सम्पूर्ण सरकारी मापदण्ड पुराएर मात्रै गरिने भएकोले असफल हुने सम्भावना धेरै कम हुन्छ, कतिपय अवस्थामा सरकारले पनि सहयोग र उद्दार गर्छ जुन नेपालमा हुँदैन । जस्तै कोरोना महामारीमा साना उद्योग ब्यापारहरुलाई सरकारले धेरै राम्रो उद्दार प्याकेज ल्याएर ध्वस्त हुनबाट जोगाएको थियो।
४. समृद्ध देशहरुमा पाइने निशुल्क शिक्षाले धनी गरिव जो कोहिले पनि विश्व स्तरको गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्न सकिने सुबिधा छ जुन नेपालमा सबैलाई सम्भव छैन बिशेष गरेर निम्न बर्गका नागरिकहरुलाई ।
५. तेस्रो मुलुकमा राम्रो बैदेशिक रोजगारको अवसर । देशको हैसियत र प्रतिष्ठाले गर्दा पनि तेस्रो मुलुकहरुमा धेरै लाभदायी बैदेशिक रोजगारहरु प्राप्त गर्न सकिन्छ । उदाहरणका लागि अफगानिस्तानमा नाटो सेना हुने बेला नेपालबाट सेक्युरिटीमा जाने भूपू नेपाली वा भारतीय सेनाका नेपालीहरुले मासिक हजार पन्ध्रसय डलर पाउँथे भने त्यहि काममा नेपाली पासपोर्ट भएका भूपू ब्रिटिश सेनाका गोर्खालीहरुले मासिक ३ हजार डलर भन्दा बढी तलब पाउँथे भने त्यहि काममा बेलायती पासपोर्ट भएका भूपू गर्खाली सेनाका सुरक्षाकर्मीले मासिक ५-७ हजार डलर तलब पाउँथे । यस्तै अवस्था खाडी मुलुकमा बेलायतबाट जागिर खान जाने बेलायती पासपोर्ट भएका र नभएका भुपू गोर्खालीहरु बिचको तलब सुविधामा पनि धेरै भिन्नता देखियो । यसका साथै अंग्रेजी भाषा शिक्षकका रुपमा चीन, जापान, दक्षिण कोरिया जस्ता देशहरुमा साधारण लेखापढी गरेका बेलायती नागरिकले धेरै राम्रो तलब सुबिधा सहितको रोजगारी पाएको देखियो जुन नेपालमा अंग्रेजीमा मास्टर डिग्री गरेकालाई दिदैनन् ।
६. समृद्ध र शक्तिशाली देशहरुको कुटनैतिक पहुँच पनि धेरै प्रभावकारी हुने भएकोले कुनै तेस्रो देशमा रहेको बेला कुनै समस्या भोग्नु परेको खण्डमा धेरै राम्रो कुटनीतिक सहयोग र सुरक्षा प्राप्त गर्न सकिने । उदाहरणका लागि हालै मात्रै इरानमा जासुसीको आरोपमा थुनिएकि एक बेलायति महिलालाई कुटनीतिक माध्यमबाट मुक्त गरेर लगियो, त्यस्तै रुसमा थुनिएको एक अमेरिकी नागरिक र उत्तर कोरियामा जेल परेका एक अमेरिकी नागरिकलाई कुटनीतिक पहलबाट मुक्त गरिएका जस्ता उदाहरणहरु प्रसस्तै पाइन्छन भने नेपालको हकमा भन्नु पर्दा खाडी मुलुकमा अनाहक जेलमा सडेर बसेका, सानो तिनो केशमा मृत्यु दण्ड पाएका नेपालीहरुको हकमा नेपाल सरकारले केहि गर्न नसकेको उदाहरणलाइ पनि लिन सकिन्छ । तर दोहोरो बिदेशी नागरिकता लिएकै कारणले नेपाली नागरिकता खोसिने डरले गर्दा कतिपय नेपालीहरुले बिदेशी नागरिकता लिन पाउने हकदार भए पनि बिदेशी नागरिकता नलिएको देखिन्छ । के आफ्नै देशको नागरिकहरुलाई विदेशले दिने यस्ता सेवा सुविधाहरुबाट बन्चित गराउने नेपाली नागरिकता ऐन उचित छ ?
दोहोरो नागरिकताले नेपाललाई हुने फाइदाहरु:
१. बिदेशी मुद्रा आर्जन र नेपालको अर्थतन्त्रलाई फाइदा: सर्बप्रथम त यसले नेपालको अर्थतन्त्रलाई नै ठुलो फाइदा हुने देखिन्छ किनभने उमेर छउन्जेल विदेश मै रहेर धेरथोर मात्रामा रेमिटेन्स पठाए पनि अवकाश पछि अधिकांश नेपालीहरु नेपाल नै फर्कन रुचाउदछ्न । यसरि फर्कने नेपालीहरु बुढेशकालमा नेपालको लागि बोझ हुने हिसाबले रित्तो हात फर्किदैन, आफ्नो जागिर वापतको पेन्सन र बुढेसकालमा पाइने सामाजिक भत्ता पनि बोकेर आउँछन् जुन भनेको मासिक २-३ लाख हुन सक्छ ।
यदि १ लाख नेपालीहरु मात्रै अवकाश पछि नेपाल फर्किए भने तिनले मासिक २०-३० अरब रुपैँया बिदेशी पैसा नेपाल भित्र्याउछन जुन भनेको नेपाल जस्तो देशको लागि धेरै ठुलो रकम हो जसले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गर्न सक्छ । बढ्दो बिदेशिने क्रमलाई हेर्दा भविष्यमा यो संख्या सहजै ५-१० लाख पुग्ने देखिन्छ, यस्तो अवस्थामा तिनीहरुले भित्र्याउने बिदेशी मुद्रा कति धेरै होला र त्यसले देशलाई कति धेरै फाइदा होला सहजै अनुमान गर्न सकिन्छ । तर बिदेशी नागरिकता लिएकै कारणले तिनीहरुको नेपाली नागरिकता खोसी दिने हो भने के तिनीहरु नेपाल फर्केर आउलान त ? किनभने जव तिनीहरुलाई आफु नेपाली नागरिक नै नरहेको र उपेक्षित भएको महसुस हुन्छ तब भावनात्मक सम्बन्ध पनि त्यति धेरै बलियो रहदैन ।
यस्तो अवस्था भनेको सम्बन्ध बिच्छेद भएका बुढाबुढी जस्तै हो । त्यसैले बिदेशी नागरिकता लिएकै कारण यस्ता बिदेशी मुद्रा भित्र्याउने दुहुना गाई जस्ता नेपालीहरुको नागरिकता खोस्ने काम होइन कि बरु कसरि तिनीहरुलाई नेपाल फर्काउन सकिन्छ भनेर तिनीहरुको नागरिकतालाई कायमै राख्ने नीति तिर लाग्नु पर्ने देखिन्छ । यस्तो भन्दा खेरि तिनीहरुले ल्याएको पैसा के सबैलाई बाँड्दै हिड्ने होर भनेर पनि भन्लान तर बाँडेर नहिडे पनि त्यसले त्यसले देशमा सानोतिनो रोजगारको बाताबरण सिर्जना गर्न सक्छन् जस्तै: राम्रो तलब सुबिधा दिएर कसैलाई घरमा हेल्पर राखे पनि यसले सानोतिनो रोजगारको सिर्जना हुन्छ ।
उदाहरणका लागि एकजनाले प्रतिव्यक्ति मासिक २५/३० हजार रुपैयाँ तलब दिएर २ जनालाई घरेलु काममा राखे पनि नेपालको सन्धर्वमा भन्नु पर्दा कुनै ठुलो योग्यता नभएका सर्वसाधारणका लागि त्यो ठुलै आयश्रोत हुन जान्छ । यहि अनुपातमा बिदेशी पेन्सन भत्ता खाने १ लाख जना अवकाश प्राप्त बुढाबुढिहरुले घरेलु कामदार राख्दा कतिजना सर्वसाधारण जनताले रोजगार पाउँछन् आफै विचार गर्नुस । किनभने बुढेसकालमा तिनीहरुलाई हेरचाह गर्ने सहयोगी त अवश्य नै चाहिन्छ । यसका साथै कसैले उद्योग ब्यापार तिर लगानी पनि गर्लान, तिनीहरुले गर्ने दैनिक किनबेचले पनि नेपाली बजारलाई चलायमान गराउला, केहि नगरेर भएको पैसा बैंक मै थुपारेर राखे पनि देशलाई अत्यावश्यक बिदेशी मुद्रा त भित्रिन्छ ।
२. विश्व स्तरिय उच्च शिक्षामा पहुँच: समृद्ध देशहरुको दोहोरो नागरिकता पाएका नेपालीका सन्तानहरुले त्यहाँका विश्व स्तरिय विश्व बिध्यालयहरुमा अध्ययन गर्ने अवसर पनि पाउँछन उदाहरणका लागि बेलायतका क्याम्ब्रिज, अक्सफोर्ड अमेरिकाको हार्वर्ड आदि जुन नेपालमा बसेर पढ्न पाउनु भनेको एउटा दिवा सपना जस्तो कुरा हो । यस्ता विश्व बिद्यालयहरुमा अध्ययन गर्न पाउनु मात्रै पनि एउटा गर्वको कुरा हो त्यसैले कुनै नेपालीको सन्तानले यस्तो अवसर पाउनु नराम्रो कुरा होइन चाहे त्यो बिदेशी नागरिकता लिएको एउटा नेपालीको सन्तान नै किन नहोस ।
३. उच्च ओहोदहरुमा पहुँच: कुनै देशको नागरिक भएमा मात्रै ति देशका उच्च सरकारी ओहोदामा पुग्न सकिने सम्भावना हुन्छ जस्तै राजनीति, सेना, प्रहरी, अदालत आदि । उदाहरणका लागि भारतीय मुलक ऋषि सुनाक बेलायतको प्रधान मन्त्रि हुँदा र कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति हुँदा भारतीयहरुले कति गर्व गरेका थिए । यी मात्रै होइनन् बेलायती राजनीतिमा भारतीय मुलकी प्रिती पटेल र पाकिस्तानी मुलक साजिद जावेद गृहमन्त्री भएका छन् भने सादिक खान लण्डन जस्तो शहरको मेयर बन्न पुगेका छन् । के नागरिकता कै कारणले कुनै नेपालीको सन्तान यस्तो स्थानमा पुगेमा उसलाई नेपाली होईन भन्ने ?
४. बिज्ञान तथा प्रविधीका क्षेत्रमा पहुँच: कुनै पनि नेपाली बिद्यार्थीलाई समृद्ध देशका उच्च सुबिधा सम्पन्न विश्व बिद्यालयमा अध्ययन गरेर बिज्ञान तथा प्रबिधिको क्षेत्रमा शिखर चुम्न जति सम्भव छ त्यति नेपालका विश्व बिद्यालयहरुमा अध्ययन गरेर सम्भव छैन । भोलिको दिनमा बिज्ञान र प्रबिधिको क्षेत्रमा कुनै नेपालीको सन्तानले नोबेल पुरस्कार पाउँछन् भने त्यसले सम्पूर्ण नेपालीको मात्रै होइन नेपाल कै इज्जत रहने कुरा हो । के नागरिकता कै कारणले कुनै नेपालीको सन्तानले यस्तो उपलब्धी हासिल गरेमा उसलाई नेपाली नागरिक होईन भन्ने ?
५. अन्तरराष्ट्रिय खेल क्षेत्रमा पहुँच: अहिलेको अवस्थामा नेपालले ओलम्पिक त धेरै परको कुरा हो एशियाली खेलकुदमा समेत कुनै स्वर्ण पदक पाउन सकेको छैन । यसको प्रमुख कारण खेलकुदको क्षेत्रमा समृद्ध देशहरुमा जस्तो उच्च स्तरको ट्रेनिङ गर्ने सुबिधा नहुनुले हो किनभने जतिसुकै प्रतिभावान खेलाडी भए पनि यदि उसले तालिम गर्ने उचित साधन र बाताबरण पाएन भने उसले कहिल्यै शिखर चुम्न सक्दैन किनकी उ जस्ता प्रतिभाशाली खेलाडीहरु संसारमा हजारौ हुन्छन र जसले उचित तालिमको अवसर पाउँछ उसको नै शिखर चुम्ने सम्भावना अधिक हुन्छ ।
यसको एउटा जल्दोबल्दो उदाहरण हुन् ईङ्गल्याण्डको महिला फूटबल टिममा खेल्ने एक भूपू गोर्खा सैनिकका छोरी अस्मिता आले मगर । कुनै दिन अस्मिता आलेले महिला विश्व कप र ओलम्पिकको स्वर्ण पदक थापेमा कुनै अनौठो हुने छैन किनभने ईङ्गल्याण्डको महिला फूटबल टिम विश्वको उत्कृस्ट महिला फूटबल टिम मध्यको एक टिम हो । के नागरिकता कै कारणले अस्मिता आले जस्ता विश्व स्तरिय खेलाडीले नेपाली टिमबाट खेल्छु भनेमा नपाउने हो ? भोलिको दिनमा युरोप अमेरिकाको नागरिकता लिएको कुनै नेपालीको सन्तानले ओलम्पिक जस्तो खेलमा कुनै स्वर्ण पदक पाउन सक्ने स्थानमा पुग्ला जुन असम्भव पनि छैन, के नागरिकता कै कारणले उसले नेपालबाट खेल्न चाहेमा नेपालको दोहोरो नागरिकता नीति त्यसमा तगारो बन्ने हो ? किनभने नेपालबाट खेल्न कै लागि उसले विदेशको नागरिकता त्यागेर पुन: नेपाली नागरिकता लिने कुरा त आउँदिन ।
६. उद्योग ब्यापारमा लगानी: कुनै पनि व्यक्तिले कुनै पनि देशको उद्योग व्यापारमा लगानी गर्ने सम्भावना त्यति नै धेरै हुन्छ जव उ त्यो देशको नागरिक हुन्छ, यदि उ त्यो देशको नागरिक होइन भने उसले त्यो देशमा गएर त्यहाँको उद्योग व्यापारमा लगानी गर्ने सम्भावना पनि अति न्यून हुन्छ । के नागरिकता कै कारणले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न दुरुत्साहित गर्न ठिक हो ? युरोपका पोर्तुगल, ग्रिस, टर्की जस्ता देशले त आफ्नो देशमा आएर लगानी गर्ने बिदेशीहरुलाई दोहोरो नागरिकताको सुबिधा दिन्छ भने नेपालले आफ्नै देशका बंशज नागरिकलाई विदेशले दिने दोहोरो नागरिकताको सुविधाबाट बन्चित गर्नु कत्तिको उचित हो ?
७. विज्ञता क्षेत्रमा सहयोग: कुनै पनि क्षेत्रमा विज्ञता प्राप्त गर्न जति धेरै अवसर र सहजता बिकसित देशहरुमा शिक्षित बिद्यार्थीहरुलाई छ त्यति सजिलो नेपालमा शिक्षित बिद्यार्थीहरुलाई छैन । त्यसैले नेपालमा रहेका बिद्यार्थीहरु भन्दा बिदेशी नागरिकता लिएका नेपालीहरुका सन्तानहरुलाई यो सुनौलो अवसर बढी मात्रामा प्राप्त हुन्छ जसले विज्ञताका क्षेत्रमा पनि नेपाललाई धेरै बिषयमा सहयोग गर्न सक्छन । तर यो पनि जति धेरै म पनि एउटा नेपाली नागरिक हुँ भन्ने भित्री भावनाले प्रेरित गराउँछ त्यति धेरै म नेपाली नागरिक होइन भन्ने कुराले गराउदैन । त्यसैले के यस्ता कुरामा भावनात्मक सबंधलाई बलियो बनाउन कै लागि पनि दोहोरो नागरिकता लिएका बंशज नेपालीहरुको नागरिकता खोस्नु उचित नहोला |
८. पर्यटन प्रवर्द्धन: पर्यटनका हिसाबले नेपाल एउटा ठुलो पर्यटकिय सम्भावना बोकेको देश हो । तर जहाँ विदेशका एउटै शहरमा बार्षिक करोडौ पर्यटकहरुले भ्रमण गर्छन त्यहाँ नेपाल जस्तो एउटा सिङ्गो देशले भ्रमण बर्ष अभियान मार्फत पनि बार्षिक २० लाख पर्यटक भित्र्याउन सक्दैन । यसको लागि पर्यटन प्रवर्द्धनको पनि ठुलो भूमिका रहन्छ जसमा विदेशमा भएका नेपालीहरुले ठुलो भूमिका खेल्न सक्छन । उदाहरणका लागि आफैले नेपालका पर्यटन क्षेत्रमा लगानी गरेर, बिदेशमा यसको प्रचार प्रसार वा व्यवस्थापन गरेर, आफैले (बिदेशमा हुने नेपालीले) पनि नेपाल भ्रमण गरेर तर यसको सम्भावना पनि जति धेरै एउटा नेपाली नागरिकको हैसियतले गर्न उत्साह रुचि हुन्छ त्यति धेरै गैर नेपालीको हैसियतले हुँदैन । यहाँ पनि नेपाली नागरिक हुनु र नहुनुको भावनाले ठुलो भूमिका खेल्न जान्छ ।
नेपालको वर्तमान नागरिकता ऐनले कसलाई असर पार्दछ?
झट्ट हेर्दा यसले जो नेपाली विदेशमा गएर बसोबास गर्दैछन् वा गरेका छन् तिनलाई मात्रै असर पारेको देखिन्छ र बुझिन्छ पनि । त्यसैले नेपालमा हुने नेपालीहरुले यसलाई आफ्नो समस्या ठान्दैनन् अनि यस बारेमा कुरा उठ्दा खेरि बाल मतलव भन्ने व्यवहार पनि गर्दछन । तर यदि गहिरिएर र भविष्यलाई समेत मध्यनजर गरेर हेर्ने हो भने कालान्तरमा यसले सबै नेपालीहरुलाई असर पार्न सक्ने र पार्ने पनि देखिन्छ । किनभने पहिलो पर्न सक्ने असर भनेको अहिलेको नेपालको ट्रेण्ड नै विदेशिने छ त्यसमा पनि बिशेष गरेर बिद्यार्थी र युवा शक्ति जो त्यहाँ पुगे पछि प्राय परिवार लगेर त्यतै सेटल भएर बस्छन । यस्तो अवस्थामा आजको दिनमा नभए पनि भोलीको दिनमा तपाईका सन्तान, परिवारका सदस्य वा नजिकका आफन्तीहरुलाई पनि यहि ट्रेण्डले त्यस ठाउँमा नपुर्याउला भन्न सकिदैन । यदि तिनीहरुले त्यताको सरकारले दिने पूर्ण सेवा सुबिधा पाउनको लागि त्यताको नागरिकता लिएका कारण तिनीहरुको नेपाली नागरिकता नै खारेज गरेर तिनीहरुको नेपालसंगको सम्बन्धलाई सधैका लागि समाप्त गरिदिने हो भने तपाईहरुलाई खुशी लाग्ला त ? त्यसैले आज बिदेशमा भएका नेपालीहरुलाई खाने बाघले भोली तपाईका सन्तान र आफन्तीहरुलाई पनि खाने कुरामा कुनै आशंका छैन ।
दोस्रो पर्न जाने असर भनेको जव कुनै पनि व्यक्तिको राष्ट्रियता नै समाप्त हुन जान्छ भने त्यस देशसंग हुने आर्थिक सम्बन्ध पनि समाप्त हुन जान्छ । उदाहरणका लागि रेमिटेन्स, लगानी, ब्यापार, अवकाश पछिको पेन्सन सुबिधाबाट प्राप्त हुने रकम जसले नेपालको अर्थतन्त्रमा एउटा महत्वपूर्ण भूमिका खेलेको हुन्छ त्यो समाप्त हुन जान्छ जसको असर अप्रत्यक्ष रुपमा सबै नेपालीहरुलाई पर्ने कुरा हो चाहे त्यो गरिव वा धनि नै किन नहोस । त्यसैले यो मेरो समस्या होइन भनेर सोच्नु गलत बुझाइ हुनेछ ।
यी त भए बिदेशी नागरिकता लिएका बंशज नेपाली नागरिकहरुको नागरिकता खारेज नगरेको खण्डमा देशलाई हुने फाइदाका कुराहरु । अब बंशज नेपालीलाई दोहोरो बिदेशी नागरिकता लिन दिँदा देश र जनतालाई हुन सक्ने सम्भाब्य नोक्सानका साथै बिध्यमान भ्रमहरुका बारेमा पनि केहि विश्लेषण गरौँ ।
१. फिजीकरणको भय: दोहोरो नागरिकताको बारेमा नेपाल सरकार र नेपालीहरुको मानसिकतामा स्थापित सबै भन्दा ठुलो भय भनेको दोहोरो नागरिकता नीतिले नेपाल फिजीकरण हुन सक्छ भन्ने हो । सरसर्ती हेर्दा कुरो ठिकै पनि हो किन भने भारतको बिहार जस्तो राज्यसित खुल्ला सिमानाले जोडिएको नेपालमा दोहोरो नागरिकताको नीति अपनाउदा भएभरको बिहारीहरु नेपाल भित्रेर कतै नेपाललाई पनि फिजी जस्तै बनाउलान भन्ने डर लाग्नु स्वाभाविक पनि हो । तर यसबाट रत्तिभर डर मान्नु पर्ने आवश्यकता छैन किनभने दोहोरो नागरिकता भन्दैमा यहाँ नेपालले कुनै बिदेशीलाई दोहोरो नागरिकता दिने कुरा गरेको होइन र दिनु पर्छ भन्न खोजेको पनि होइन, केवल नेपालको बंशज नागरिकले दोहोरो बिदेशी नागरिकता लिन पाउने प्रावधानका बारेमा मात्रै कुरा गरेको हो ।
जब नेपालले कुनै विदेशीलाई दोहोरो नागरिकता नै दिदैन भने कसरी नेपालमा फिजीकरण हुन्छ ? अनि कुनै बंशज नेपाली नागरिकले दोहोरो बिदेशी नागरिकता लिदैमा नेपाललाई के नोक्सान हुन्छ र देश कसरि फिजीकरण हुन जान्छ ? त्यसैले बंशज नेपाली नागरिकले दोहोरो बिदेशी नागरिकता लिदा देशलाई केहि नोक्सान हुँदैन र यो फिजीकरण केवल एउटा भय मात्रै हो । त्यसकारण बंशज नेपाली नागरिकले कुनै देशको दोहोरो नागरिकता लिदैमा देश फिजीकरण हुँदैन ।
२. राजनितीमा भाग खोसी देलान भन्ने डर: यहाँ नेपाली राजनीतिज्ञहरुमा देखिएको अर्को डर भनेको कतै विदेशबाट आएर नेपाली राजनीतिमा लागेर हाम्रो भाग खोसेर खाईदेलान भन्ने डर हो । यो भन्दा हास्यास्पद डर यहाँ अर्को के नै पो हुन सक्ला र । किनभने एक त बिदेशिएका नेपालीले जिन्दगी भर बिदेशमा जागिर गरेर कहिले नेपाल आएर राजनीति गर्लान ? नेपालमा आएर राजनीति गर्नको लागि जागिर वा पेशाबाट फुर्सद पनि त पाउनु पर्यो ।
फेरी नेपालमा झैं एकातिर जागिर र ठेक्कापट्टा अर्को तिर नेतागिरी गरेको जस्तो पनि त बिदेशमा बसेर हुँदैन होला । त्यसैले राजनीति गर्न कै लागि झोलीतुम्बा बोकेर कोहि नेपाल त आउंदैनन होला किनभने राजनितीमा सफलता पाउने कुनै ग्यारेन्टी पनि त हुँदैन होला । यदि कोहि व्यक्ति मर्ने बेलामा नेपाल आएर राजीतिमा हात हाली हाले पनि त्यो व्यक्ति कुन लेभलसम्म पुग्न सक्ला र ? किनभने राजनितीको माथिल्लो लेभलमा पुग्नलाई त सोहि अनुसारको समय र मेहनत पनि त खर्चेको हुनु पर्यो । त्यसैले विदेशबाट नेपाल आएर राजनीति गर्नु भनेको केवल कुनै पार्टीको झोला बोक्ने काम बाहेक अरु केहि हुने छैन । यदि कसैले मर्ने बेलामा कुनै पार्टीको झोला बोक्न आउँछ भने गाँठ सहितको कार्यकर्ता पायो भनेर बरु पार्टीका मानिसहरु त खुशी पो हुनु पर्ने होइन र ?!
३. सरकारी जागिरमा भाग खाई देलान भन्ने डर: कतिपयलाई विदेशबाट आएर नेपालको निजामती क्षेत्रमा जागिर खाएर नेपालमा भएकाहरुको अवसर खोसिएला भन्ने पनि लाग्छ होला । यदि त्यस्तो हो भने यो पनि एउटा हास्यास्पद कुरा नै हो । किनभने त्यस्ता व्यक्तिले यदि जागिर नै खानु परे पनि बिदेशमा मासिक लाखौँको जागिर खान छोडेर नेपालमा हजारको जागिर खान कोहि आउलान र ? त्यसैले यसमा पनि कसैले डर मान्नु पर्ने आवश्यकता छैन ।
४. राष्ट्रिय सुरक्षामा खतरा: कतिपयले बिदेशी नागरिक भए पछि विदेशबाट नेपाल आएर विदेशीको लागि खुफिया र जासुसी जस्ता काम गरेर देशको राष्ट्रिय सुरक्षामा खतरा पुग्न जाने तर्क पनि गर्दछन । के त्यो काम गर्नको लागि नेपालको उच्च निकायहरुमा पहुँच भएका नेता र कर्मचारीहरु नै पर्याप्त छैनन् र ? किनभने राष्ट्रिय हितको मामिलामा नेता र कर्मचारीहरुले कति सम्मको राष्ट्रघात गरेका छन् भन्ने कुरा त घाम जस्तै छर्लंग भएको कुरा हो ।
मानी लिउँ कोही व्यक्ति त्यसरी खराब नियतले नै आयो रे, तर त्यसलाई राष्ट्रको उच्च निकायहरुमा पुग्नलाई पनि त समय लाग्ला नि, त्यस्ता पदमा १/२ बर्ष मै त अवश्य पुगीदैन होला साथै पुग्ने ग्यारेन्टी पनि त हुँदैन होला । त्यसैले त्यस्ता व्यक्तिले त्यसैका लागी जिन्दगीभर नेपालमा बसेर पक्कै पनि आफ्नो अमुल्य समय खेर फाल्न त पक्कै पनि आउँदैनन् होला । त्यसैले यो पनि एउटा भ्रम मात्रै हो ।
५. सेना प्रहरीमा प्रवेश: केहिले सेना प्रहरी जस्तो क्षेत्रमा जागिर गरेर त्यस क्षेत्रको उच्च ओहोदामा पुगेर देशको राष्ट्रिय सुरक्षामा खतरा होला भन्ने आशंका पनि गर्छन । यो पनि एउटा मिथ्या कुरा हो किनभने यदि कसैलाई सेना वा प्रहरीमा जागिर खाने हुतहुति नै भए पनि तिनले मासिक लाखौँ तलब पाउने बिदेशी सेना प्रहरीमा जागिर गर्लान कि नेपालको सेना प्रहरीमा जागिर गर्लान ? यदि गलत नियतका साथ कोहि आउँछ भने त्यो व्यक्ति सेना वा प्रहरीको उच्च दर्जामा पुग्छ नै भन्ने कुनै ग्यारेन्टी हुन्छ र ? अनि यस्तो कुनै ग्यारेन्टी नभएको कुरामा आफ्नो जिन्दगीको अमुल्य समय खेर फाल्न कोहि आउला ? त्यसैले यो पनि एउटा भ्रम मात्रै हो ।
कस्तो खालको दोहोरो नागरिकता नेपालले प्रदान गर्नु पर्छ?
नेपालको हकमा दोहोरो नागरिकताको कुरा गर्दा यहाँ कुनै बिदेशी नागरिकले नेपाली नागरिकता लिंदा खेरि निजले आफ्नो देशको नागरिकता त्याग्नु नपर्ने भनेर बुझिन्छ । तर यहाँ त्यस्तो कुरा गर्न खोजेको होइन, त्यसैले नेपालको हकमा कुनै पनि विदेशीले नेपाली नागरिकता लिंदा खेरि निजलाई दोहोरो नागरिकता दिनु पर्छ भन्न खोजिएको होईन, यहाँ भन्न खोजिएको दोहोरो नागरिकता भनेको यदि कुनै पनि बंशज नेपाली नागरिकले बिदेशी नागरिकता लिंदा खेरि निजले नेपाली नागरिकता त्याग्नु बाध्यता आई पर्दैन भने त्यस्तो अवस्थामा एक पटकको नेपाली सदाको नेपाली भन्ने मान्यतालाई मध्यनजर गरेर नेपाल सरकारले त्यस्ता नेपाली नागरिकहरुको नेपाली नागरिकता खारेज नहुने प्रावधान लागु गर्नु पर्छ भन्न खोजिएको मात्रै हो ।
किनभने यसो गर्दा न त नेपालको जनसंख्या नै बढ्छ न त नेपाल फिजीकरण हुने भय नै रहन्छ । यसका साथै ति बंशज नेपाली नागरिकका सन्तानले आफुलाई नेपाली हुँ भन्ने महसुस गर्छन र नेपाली हुनुमा गर्व गरेर आफ्नो बंशज नेपाली नागरिकता कायम राख्न चाहन्छन भने तिनीहरुलाई पनि बंशज नेपालीका आधारमा नेपाली नागरिकता पाउने प्रावधान राख्दा उचित हुन्छ भन्ने कुरा हो, जसले नेपाललाई बेफाइदा भन्दा फाइदा नै बढी हुने देखिन्छ किनभने त्यसरी नेपालको नागरिकता लिन आउने चाहनेहरु पनि आखिर कति नै पो होलान् ? साथै जसले नेपालको नागरिकता प्रति त्यस्तो भावना राख्दछ उसलाई पक्कै पनि नेपाल प्रतिको ठुलो आस्था र अगाध माया भएर नै त्यस्तो गर्न चाहेको हुन्छ, होइन भने नेपाल भन्दा बिकसित र सुब्यबस्थित देशमा बस्न पाएर पनि किन त्यस्तो गर्न चाहन्थ्यो होला र नेपाल प्रति त्यस्ता भावना भएका नेपालीले नै देशको लागि केहि गर्ने सम्भावना पनि बढी हुन्छ त्यसैले त्यस्ता नेपाली सन्तानहरुलाई किन नेपालको नागरिकताबाट बन्चित गर्न ?
गोर्खा सैनिकका बारेमा बिशेष सुबिधा:
जति पनि बेलायती सेनामा भएका गोर्खाली सेनाहरु नेपाल बेलायत र भारतले गरेको १९४७ सालको त्रिपक्षिय सम्झौताका आधारमा नेपाल सरकारको अनुमति अनुसार नेपाली भूमी बाटै भर्ति भएका हुन् न कि बिदेशिएका अन्य नेपालीहरु झैँ रोजगार वा अन्य कुनै सिलसिलामा आफूखुसी बिदेश पलायन भएका हुन् । यसमा याद राख्नु पर्ने कुरा के छ भने बेलायती सेना जस्तो विश्वका बिभिन्न क्षेत्रमा जानु पर्ने सेनामा कार्यरत गोर्खाली सेनाले नेपाली पासपोर्ट लिएर सबै ठाउँमा जान एकदमै झन्झटिलो मात्रै नभएर असम्भव जस्तै हुने समस्यालाई मध्यनजर गरेर बेलायत सरकारले दिएको दोहोरो नागरिकताको सुबिधालाई उपयोग गरेर कुनै गोर्खाली सैनिकले नेपाली नागरिकता नत्यागी बेलायतको नागरिकता लिन्छ भने यसमा नेपालको के टाउको दुखाई भयो ? यदि यसमा नेपाल सरकारको टाउको दुखाई नै हुन्छ भने किन बेलायत जस्तो संसार चाहार्नु पर्ने देशको सेनामा भर्ति गर्ने अनुमति दिएको ? त्यसैले गोर्खाली सेनाको हकमा भन्नु पर्दा कि त गोर्खाली सेनामा कार्यरत नेपालीहरुलाई जर्मनीले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीहरुबाट पिडित यहुदीहरुलाई बिशेष समुहमा राखे झैं गोर्खा सैनिकहरुलाई पनि बिशेष समुहमा राखेर तिनीहरुले पेशाको सिलसिलामा बेलायती नागरिकता लिएता पनि नेपाली नागरिकता कायमै रहने प्रावधान राख्नु पर्यो होइन भने १९४७ सालको त्रिपक्षिय सन्धिलाई नै खारेज गर्न सक्नु पर्छ ।
विन विन समाधान:
यदि कुनै नेपाली नागरिकले कुनै देशको नागरिकता लिंदा खेरि त्यस देशको नागरिकता नियम अनुसार नेपालको नागरिकता त्याग्नु पर्छ भने त्यो बेग्लै कुरा हो किनकि त्यस्तो अवस्थामा नेपाली नागरिकता त्यागेर भए पनि त्यो देशको नागरिकता लिने कि नेपाली नागरिकता त्याग्नु भन्दा त्यो देशको नागरिकता नै नलिने भन्ने कुरा निज व्यक्तिको व्यक्तिगत निर्णय र रोजाईमा भर पर्ने कुरा हो । यस्तो अवस्थामा उक्त व्यक्तिको निर्णय अनुसार नेपाल सरकारले निजको नागरिकता खारेज गर्नु बेग्लै कुरा हो तर जुन देशको नागरिकता लिंदा खेरि नेपाली नागरिकता त्याग्नु पर्ने बाध्यता छैन भने यसमा नेपाल सरकारको टाउको दुखाई किन ? किनभने कुनै देशले पहिलो देशको नागरिकता नत्यागीकनै आफ्नो देशको दोहोरो नागरिकता दिन्छन भने त्यो त्यस देशको समस्या हो नेपालको होइन, नेपालको हकमा कुनै बिदेशी नागरिकले नेपालको नागरिकता लिंदा खेरि उसको देशको नागरिकता नत्यागी नेपालको नागरिकता नदिए त कुरै सक्किगो ।
यदि कुनै पनि नेपालीले नेपालको नागरिकता नत्यागी कुनै देशको दोहोरो नागरिकता प्राप्त गर्छ भने त्यसले न त नेपाललाई कुनै हानी हुन्छ न त कुनै नोक्सानी नै । त्यसैले बिदेशिएका नेपाली नागरिक जसले नेपालको माया गर्छन र नेपालको लागि केहि गर्न पनि चाहान्छन तिनीहरुलाई नेपाल फर्किनको लागि प्रोत्साहित गर्न र तिनीहरुको स्वदेश फर्किने ढोका खुल्लै राख्नका लागि नेपाल सरकारले नेपाली नागरिकता नत्यागेर कुनै देशको दोहोरो नागरिकता लिन पुगेका नेपालीहरुको नेपाली नागरिकता खारेज नहुने प्रावधान राख्नु नै दुवै पक्षका लागि एउटा विन विन समाधान हुनेछ ।
मेरो हकमा भन्नु पर्दा नेपालको नागरिकता ऐनको कारण बेलायतले दिएको दोहोरो नागरिकताको सुबिधा लिन नपाए पनि म चाँही अवकाश पछि नेपाल मै फर्किने विचारमा छु र नेपाल फर्के पछि बेलायती सेनामा सेवा गरे वापत प्राप्त हुने पेन्सनले आफ्नो घर खर्च चलाएर बचेको पैसा कुनै सामाजिक सेवा वा गरिब दुखिहरुलाई सहयोग गरेर सदुपयोग गर्ने विचारमा छु तर सबैको अवस्था र सोचाई मेरो जस्तै नहुन सक्छ किनभने अधिकांश भुपू गोर्खालीहरुले बेलायती नागरिकता लिई सके पछि नेपालको वर्तमान नागरिकता ऐन अनुसार तिनीहरुको नेपाली नागरिकता कायम रहने कुरा पनि भएन, जब नागरिकता नै नरहे पछि अवकाश पछि तिनीहरुको नेपाल फर्किने आकांक्षा र सम्भावना पनि धेरै न्यून हुन जान्छ जसको कारणहरु मैले माथि नै उल्लेख गरिसकेको छु ।
त्यसैले बंशज नेपाली नागरिकहरुले दोहोरो बिदेशी नागरिकता लिंदैमा नेपाल सरकारले तिनको नेपाली नागरिकता खोस्ने काम नगरोस भन्न चाहन्छु । यसको लागि सम्बन्धित निकाय र नेताहरु समक्ष यस लेखलाई पुर्याएर सहयोग गरि दिनुहुन पनि सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु ताकि दोहोरो नागरिकताका बारेमा बिध्यमान भ्रमहरुबाट सबै मुक्त हुन सकुन ।