काठमाडौं २७ जुन २०२३ ।

साफ च्याम्पियनसिप फुटबलको जारी संस्करणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको छ ।
नेपालले दोस्रो हाफको अन्तिम समयमा गरेको एकमात्र गोल निर्णायक बन्दा नेपालले सान्तवना जित हासिल गरेको हो । प्रतियोगितामा कुवेत र भारतसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको नेपाल र पाकिस्तान दुवै सान्त्वना जितको खोजीमा रहेका थिए । जहाँ नेपालले बाजी मारेको हो। नेपालका लागि ८० औँ मिनेटमा आशिष चौधरीले गरेको प्रहार गोलमा परिणत हुँदा नेपालले गोलविहीन अवस्थाको अन्त्य गरेको थियो ।
त्यसअघि पहिलो हाफमा दुवै टिमले गोलका सीमित अवसर पाए पनि सदुपयोग गर्न असफल हुँदा खेल गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा कप्तान किरण चेम्जोङले गोलका केही राम्रा मौका जोगाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपालले भने पाकिस्तानको पोस्टमा सीमित मात्र अवसरहरु बनाएको थियो ।
खेलको ४२ औँ मिनेटमा विमल घर्ती मगरले वान भर्सेस वानमा गरेको प्रहार पाकिस्तानी गोलरक्षक युसुफ बटले जोगाउँदा नेपाल सम्भावित अग्रताबाट चुक्यो । समूह ‘ए’मा रहेको नेपाल तेस्रो खेलमा अङ्क जोड्दै घर फर्किदा पाकिस्तान भने अङ्कविहीन रह्यो ।
सेमिफाइनल पुगिसकेका कुवेत र भारतबीच मंगलबार नै समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ ।






