गुरुङ रामप्रकाश ‘समथिङ’
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार वालुङ जातिको जनसंख्या महिला ६ सय ८ जना र पुरुष ६ सय ४१ जना गरी जम्मा १ हजार २ सय ४९ जना रहेका छन् । वालुङ जातिको जनसंख्या हेर्दा यी जाति पनि अल्पसंख्यक जातिमै परेको देखिन्छ । नेपाल सरकारले जनजाति हो भनेर उन्नानसाठी जनजाति मध्येको मगर जातिको राष्ट्रिय जनगणना २०६८ अनुसार महिला १० लाख १३ हजार ३ सय १७ र पुरुष ८ लाख ७४ हजार ४ सय १६ जना गरी जम्मा १८ लाख ८७ हजार ७ सय ३३ जना रहेका छन् । यता वालुङ जातिको भने १ हजार ५ सय नाघेको देखिन्न । यस्ता जातिहरुको बास्तव मै सरकारले संरक्षण गर्नु पर्ने हो । नेपाल सरकार त के मात्रै गर्छ र जनसंख्या थोरै भएको भने अनि अल्पसंख्यक जातिमा परेकोले सिमान्तकृत समूहमा सूचीकृत गरेर आफ्नो दायित्वबाट पन्छिने काम मात्रै गरेको देखिन्छ ।
वालुङ जातिको पनि ठाउँ विशेषबाट जातिको नामाकरण भएको हो की भन्ने छ । जस्तो वालुङ भन्ने ठाउँ ताप्लेजुङ अन्तरगत पर्ने एउटा गाउँ हो । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलालाई स्थानीय भाषामा वालुङ भन्ने गर्दछ । ओलाङचुङगोला तमोर नदीको सिरानमा पर्दछ । वालुङ जातिकाहरु ओलाङचुङगोलामा बस्ने भएकोले वालुङ भनिएको भन्नेहरु पनि छन् । ओलाङचुङगोला, याङगमा, लुङथुङ, घुन्सा र लेलेप गरी पाँच प्रमुख गाउँमा बस्ने बासिन्दाहरुलाई वालुङ भन्ने गरेको पाइन्छ ।
वालुङ जातिको रहनसहन, खानपान, भेषभूषा र धर्मसंस्कृति समेत उत्तरी चिनको स्वशासित क्षेत्रमा रहेको तिब्बतको बासिन्दासंग मिलेको देखिन्छ । हुन सक्छ बढी त्यही क्षेत्रको मान्छेहरुसंग नजिएको कारणले पनि हरेक कुरामा प्रभाव परेको । प्रभावका कारण गर्दा वालुङ जातिकाहरु पनि तिब्बतियनहरुसंग नजिक भएका । ताप्लेजुङ जिल्लाको वालुङ गाउँमा ठूलो बौद्ध गुम्बा बनाएका छन् । बौद्ध धर्म मान्ने वालुङ जातिकाहरु गुम्बामा गएर विशेष अवसरहरुमा पूजा गर्ने गर्दछ ।
वालुङ जाति ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला अन्तरगत पाँच गाउँमा मात्र सिमित भएकाले अरु गाउँठाउँतिर बसोबास गरेको भेटिन्न । त्यसैले गर्दा पनि उनीहरुको जनसंख्यामा बृद्धि नभएको हुन सक्छ । थोरै–थोरै कृषि र पशुपालन गर्ने गर्दछ भने धेरै जसो व्यापारमा नै संलग्न देखिन्छ । हिमाली क्षेत्रमा भेडा, चौरी र याक पाल्ने गर्दछ । चौरी र याक पाल्दा उनीहरुलाई धेरै फाइदा हुने गर्दछ । भारी बोक्ने काममा धेरै जसो उनीहरु चौरी र याकलाई बोकाउने गर्दछ । जसका कारणले तिब्बतसंग व्यापार गर्न पनि सजिलो भएको हुनुपर्दछ ।
साक्षरता प्रतिशत शुन्य भन्दा केही माथि होला । नेपाल सरकार हरेक वर्ष साक्षरता अभियान चलाई रहन्छ । तर वालुङ जातिमा यो साक्षरता अभियानले खासै छोए जस्तो लाग्दैन । शिक्षा क्षेत्रमा पछाडि रहेकै कारणले गर्दा उनीहरु हरेक कुराले पछाडि परेको देखिन्छ । वालुङ जाति बौद्ध धर्म मान्ने भएकोले उनीहरुको जन्मदेखि मृत्युसम्मको संस्कार गर्दा लामाको प्रयोग गर्ने गर्दछ । लामालाई उनीहरु गुरुको रुपमा पूज्ने गर्दछ । वालुङ जातिको मान्छेको मृत्यु भएमा लामाले साइत हेरेपछि मात्र अन्त्येष्टिको प्रक्रियामा लाने गर्दछ । लामाले हेरेको साइत अनुसार लासलाई गाड्ने वा जलाउने कुन विधिमा गर्ने लामाको निर्णय अनुसार हुने गर्दछ । प्राय जसो लासलाई गाड्नु वा जलाउनु परेको खण्डमा अलिक अग्लो ठाउँमा लगेर गाड्ने र जलाउने गर्दछ । लासको अत्येष्टि गरिसकेपछि किरिया बार्दा वालुङ जातिको जातिगत संस्कार अनुसार गर्ने गर्दछ । मृत्यु संस्कारको अन्त्य लामाले बौद्ध धर्मको विधि अनुसार सम्पन्न गर्दछ ।
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु वैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६. लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक गुरुङ जातिको बारेमा लेख प्रकाशन गरिनेछ)
पूर्वकाउन्सिलर गुरुङको २५ अगस्टमा सांगीतिक साँझ
लन्डन । बेलायतका पहिलो नेपाली काउन्सिलर तथा समाजसेवी धन गुरुङले शैक्षिक तथा सामाजिक काममा सघाउने उद्देश्यले सांगीतिक साँझ आयोजना गर्ने भएका छन् ।
१८ वर्षपछि व्याण्डको पुनर्मिलन यही २५ अगस्टमा ह्यारोबरो फुटबल क्लब, लन्डन र १५ सेप्टेम्बरमा स्वीण्डनमा हुने लागेको हो । ‘कार्यक्रमबाट उठेको सम्पूर्ण रकम रोल्पा, थबाङस्थित बलभद्र उच्च माध्यमिक विद्यालयमा सञ्चालित कम्प्युटर प्रविधि शिक्षा परियोजना र दार्जिलिङस्थित गोर्खा वार म्युजियमलाई प्रदान गरिनेछ’, गुरुङले भने । उनले आफ्ना सबै शुभचिन्तक, साथीभाइ तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी हौसला बढाइदिन तथा कल्याणकारी काममा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
झापा जिल्लामा जन्मिएका गुरुङले १२ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा थालनी गरेका हुन् । कोलकाताको म्युजिक एकेडेमी, काठमाडौं र पछि केन्ट कलेज, क्यान्टरवरी, युकेमा संगीतको अध्ययन गरेका उनले कैयौं गीत रचना गरेका छन् भने संगीत पनि भरेका छन् । गितार, पियानो र म्यान्डोलिन बजाउने उनले रेडियो नेपालद्वारा आयोजित प्रतिभाको खोजी कार्यक्रममा पनि सहभागिता जनाएका थिए । त्यस्तै उनले टेलिभिजन सिरियलहरु रक्सी, प्रतिघात र सत्यको विजयमा संगीत निर्देशकको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
सन् १९८७ मा ब्रिटिस सेनामा भर्ती भएका गुरुङले सन् १९९१ देखि २००२ सम्म द हिमालयन टु व्याण्डको नेतृत्व गरे । उनले हङकङ, ब्रुनाइ, मलेसिया र युकेमा सांगीतिक प्रस्तुति गरिसकेका छन् । सो व्याण्डले मेरी आमा, तिमी र म, सम्झाइ देउ न कान्छीलाई जस्ता लोकप्रिय एल्बमहरु निकालिसकेको छ । व्याण्डका अन्य सदस्यमा राजीव राई, पवन थापा र विनय राई छन् ।






