काठमाडौं ५ नोभेम्बर २०२३ ।

आईएमई ग्रुपले भूकम्प पीडितका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनी तथा आईएमई फाउन्डेशनले भूकम्प प्रभावितका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् ।
जाजरकोट,रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।
गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । ती क्षेत्रमा आईएमई ग्रुप तथा आईएमई फाउन्डेशनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने छन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आईएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यस पटक पनि हरसम्भव सहयोगका लागि जुटेको
बताएका छन् ।






