लन्डन । तामाङ समाज यूकेले आयोजना गरेको ‘प्रथम रिन्जेन दोर्जे कप’ फुटबल प्रतियोगिताको उपाधि हेज एफसीले हात पारेको छ ।
लण्डनस्थित वेम्बलीको एलएनईआर स्पोर्ट्स एन्ड सोसल क्लब, मेबैंक एभिन्यूमा शनिबार २० जुनमा सम्पन्न प्रतियोगिताको फाइनलमा डीसीएफसीलाई पराजित गर्दै हेज एफसीले उपाधि जितेको हो । विजेताले ट्रफी, मेडलसहित १८०० पाउण्ड नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता डीसीएफसीले ट्रफी, मेडलसहित १००० पाउन्ड प्राप्त गर्यो ।
प्रतियोगितामा कुल १८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। थमु वाइबाको संयोजनमा भएको प्रतियोगितामा प्रमुख अथिति तामाङ समाज यूकेका सल्लाहकार एवं पूर्वअध्यक्ष दिपक गोले रहेका थिए ।
कार्यक्रममा धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम तामाङ समाज यूकेका महासचिव रोज लामाले सञ्चालन गरेका थिए।
अध्यक्ष सुरेश वाइबाले प्रतियोगितामा सहभागी खेलाडी टोलीले अनुशासित र उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा समाजका संस्थापक सदस्यहरू तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो ।






