लण्डन ६ नोभेम्बर २०२३ ।

इजरायल-हमास युद्धका क्रममा लेबनानमा समेत तनाव बढेपछि संयुक्त अधिराज्य बेलायतले आफ्नो दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको छ ।
यस क्षेत्रमा बढ्दो तनावको बीचमा लेबनानस्थित बेलायती दूतावासबाट केही कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई अस्थायी रूपमा फिर्ता गरिएको बीबीसीले जनाएको छ । हालैका हप्ताहरूमा लेबनानी समूह हिजबुल्लाह र इजरायली सेनाबीच सीमापार हिंसा भड्किएपछि सुरक्षा कारण देखाउँदै दूतावासका कर्मचारीलाई अस्थायी रुपमा फिर्ता बोलाएको हो ।
लेबनानी सरकारी मिडियाले आइतबार दक्षिणी लेबनानमा इजरायली हमलामा तीन बालबालिका र उनकी हजुरआमाको मृत्यु भएको बताएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले यो एन्टी-ट्याङ्क मिसाइल प्रहारको जवाफी कारबाहीका क्रममा एक इजरायली नागरिकको मृत्युु भएको बताएका थिए ।
७ अक्टोबरमा हमास समूहले इजरायलमाथि आक्रमण थालेपछि इजरायली सेनाले हमासलाई समाप्त पार्न युद्ध घोषणा गरेको छ । हमासलाई समर्थन गर्दै लेबनानमा रहेको मलिसिया समूह हेजबुल्लाले इजरायलमाथि आक्रमण थालेको थियो ।
इजरायलले लेबनानमा रहेका हेजबुल्ला समूहमाथिको आक्रमणलाई पनि तीव्रता दिएको छ ।






