जाजरकोट भुकम्पमा १९ वर्षीया जमुना, जसले श्रीमान् र गर्भको शिशु गुमाइन्

SHARE:

काठमाडौं ७ नोभेम्बर २०२३ ।

जाजरकोटको नलगाड नगरपालिका–६ भारगाउँकी १९ वर्षीया जमुना बुढामगरले गत शुक्रबारको भूकम्पमा श्रीमान् र पेटमा हुर्किँदै गरेको आठ महिने शिशु गुमाइन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत उनी श्रीमान् र शिशुको वियोगमा उनी एकसुरमा भित्ता कोट्याइरहन्छिन् । अरु भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ। तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ। बितेका चार दिनमा जमुनाको होश पूर्णरूपले फर्किएको छैन। श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शय्यामा छटपटाइरहेकी छिन् ।

जमुना कहिले एकसुरमा राम्रैसित बोल्छिन् । कतिबेला बोल्दै बोल्दिनन्। जतिबेला पनि पेट मुसारिरहन्छिन् । जमुनाको रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउनेगरी वेलावेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन् । ‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले ऊ होशमा आएपछि सुनायौँ। उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे’, आमा पवित्राले भनिन्, ‘एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।’ भूकम्पको पीडाले बेहोश छोरीको होश फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई चिन्ताले सताइरहेको छ ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागीराम जाजरकोट पुगे । घरमा पुग्दा जमुना बेहोश अवस्थामा भेटिएको बुबा भागीरामले बताए ।

‘हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ। उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ’, उनले भने। जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगञ्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगञ्जस्थित मसानघाटमा नै गरेको बुबा भागीरामले बताए ।

जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किएको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो । ‘हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ। त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ, भूकम्पले हाम्रो पनि घर चर्किएछ ।’ दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए ।

‘जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला’ पवित्राले भनिन्, ‘अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।’ उनका अनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ ।

भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पका कारण जमुनाका श्रीमान् र गर्भको शिशुको मृत्यु भए पनि परिवारका अरु सदस्यलाई भने सामान्य चोट लागेको छ। जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो ।

दुईजना निको भई घर फर्किएका छन् । उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा एकजनाको मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्यावस्था खतरामुक्त रहेको जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!