काठमाडौं २१ नोभेम्बर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका छन् ।
मंङ्गलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका कैयौँ सूचकहरू सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताए । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धीका समस्या विगतमा विभिन्न कारणले देखिए पनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताए । उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको जिकिर गरे ।






