
लन्डन ३१ डिसेम्बर २०२३ । बेलायत, नेपालसहित विश्वभर रहेका गुरुङ (तमु) समुदायले आज आइतबार तमु ल्होछार/ल्होसार मनाउँदै छन् ।
हि ल्हो (बिरालो वर्ग) को बिदाइ र मुप्ह्री ल्हो (गिद्ध/गरुड वर्ग) को स्वागत गर्दै तमुहरुले नयाँ वर्ष (ल्होछार) विविध कार्यक्रमका साथ मनाइरहेको हो । गुरुङ समुदायले मितिको आधारमा हरेक वर्ष पुस १५ का दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । बेलायतमा विभिन्न गुरुङ (तमु) सम्बद्ध संस्थाहरुले आ-आफ्नो अनुकूल समयमा कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।
नेपालमा काठमाडौं टुँडिखेलमासहित देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । बेलायतमा तमु धीं युकेले अल्डरसटको एम्पायर हलमा शनिबार ३० डिसेम्बरमा विविध कार्यक्रम गरेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल गुरुङले बताए । त्यस्तै तमु प्ये ल्हु संघ युकेले ३१ डिसेम्बर आज एम्पायर हलमै मुप्री ल्होको स्वागत स्वरुप ‘तमु ल्होसार महोत्सव’ कार्यक्रम गर्दै छ ।






