काठमाडौं ३ जनवरी २०२४ । नेपालभरका सिनेमा हलमा शुक्रबारबाट रिलिज भएको नेपाली चलचित्र ‘कैदीको पत्र’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
रिलिजको पहिलो दिन आयोजना गरिएको विशेष शो हेरेका दर्शकले चलचित्रबारे प्रतिक्रिया दिएका हुन् । साथै, बिहानी शोमा विभिन्न हलहरुमा चलचित्र हेरेका दर्शकले पनि यो चलचित्रलाई मन पराएका छन् ।
सनमकुमार बैरागले निर्देशन गरेको यो चलचित्रमा नयाँ कलाकारको काम, नेपाली चलचित्रमा विदेशी कलाकार साथै स्कटल्याण्डका मनोरम दृश्यहरुसँगै चलचित्रको कथा र प्रस्तुतिलाई दर्शकले रुचाएका छन् । सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई निर्देशक बैरागले आफूले लामो समय लगाएर बनाएको चलचित्रमा दर्शकको रुचि राखेकोमा खुशी व्यक्त गरे । विशेष शो हेरेपछि प्रमुख कलाकारद्वय कुनाल विश्व र सलिना थापा दंग देखिए ।
यस चलचित्रमा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ । प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको छ । यो चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन् । साहित्यकार स्व ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो ।
यस चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।
सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको चलचित्रमा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ ।






