
लन्डन ४ जनवरी २०२४ । तमुहरुको महान् पर्व ल्होछारको अवसरमा तमु समाज यूकेले शनिबार ग्रहशान्ति तथा शुद्धीकरण पूजा गरेको छ ।
बिरालो वर्गलाई बिदाइ र गिद्ध वर्गको स्वागत गर्ने उक्त पर्वको अवसरमा ३० डिसेम्बर २०२३ तदनुसार २०८० पुस १४ गते शनिबार बरहामपार्क वेम्बली लन्डनस्थित तमु समाज युकेको भवनमा पूजा गरिएको हो । पूजा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म चलेको थियो ।
समाजका सक्रिय सदस्य हरिमान गुरुङको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रम सुरु हुनुभन्दा पहिले समाजका महासचिव धरमबल गुरुङले गुरुहरुको परिचय गराएका थिए । त्यसपछि, समाजका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहका अध्यक्ष उमादेवी गुरुङद्वारा संयुक्तरुपमा द्वीप प्रज्वलन र छ्योक अर्पण गरी पूजा आरम्भ गरेका थिए । पूजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका महासचिव धरमबल गुरुङ र धार्मिक संयोजक हरिमान गुरुङले गरेका थिए ।
पूजा कार्यक्रम संचालन नेपालबाट आएका रुम्जाटार गुम्बाका मूल लामागुरु खेन्पो श्यामबहादुर गुरुङ र खोटाङ गुम्बाका मूल लामागुरु गणेश गुरुङद्वारा ग्रहशान्ति तथा शुद्धीकरण पूजा धार्मिक विधि विधान अनुसार भएको थियो । सो अवसरमा खेन्पो गुरु श्यामबहादुर गुरुङले ग्रहशान्ति र शुद्धीकरण पूजाबारे प्रस्टरुपमा प्रवचन दिएका थिए । उनी हाल युकेको बुद्धिष्ट गुम्बा रेडिङमा अस्थायी रुपमा कार्यरत छन् ।
समापनमा संस्थाका कोषाध्यक्ष खेमबहादुर गुरुङले पूजामा भोजनदान, द्रब्यदान दिनेप्रति धन्यवाद ब्यक्त गर्दै दानवीरको नामावली वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष शिवकुमार गुरुङले पूजा कार्यक्रम विधिपूर्वक सम्पन्न गरिदिएकोमा धर्म गुरुहरु, पूजा संयोजक हरिमान गुरुङ र पूजा कार्यक्रममा स्वत:स्फूर्त द्रब्यदान गर्ने, सहभागी सबै तथा आ आफ्नो ठाउँबाट खटेर सहयोग गर्नेहरुप्रति धन्यवाद दिए । २ चरणमा भएको पूजाको पहिलो चरणको पूजा बिहान साढे ८ देखि १० बजेसम्म भएको थियो । खुसीमान गुरुङको निधनको ३ वर्ष पुगेको पुण्यतिथिमा दीप प्रज्वलन भयो । त्यसपछि दोस्रो चरणमा उक्त पूजा भएको हो । पूजामा सहभागी सदस्यको सामूहिक रुपमा ग्रहशान्ति पूजा भएको थियो ।

पूजामा सहभागी सबै जनालाई स्व. खुसीमान गुरुङको स्मृतिमा उनकी श्रीमती पन्जाकुमारी गुरुङ, छोरा सुदन गुरुङ र दिदी ईच्छाकुमारी गुरुङ, बहिनीहरु पुष्पा गुरुङ र उमादेवी गुरुङले भोजनदान र द्रब्यदान गरेका थिए ।
अन्त्यमा महासचिव धरमबल गुरुङले तमु समाज यूकेले ६ जनवरीमा ह्यारो लेजर सेन्टरमा तमु ल्होछार/ल्होसार उत्सव मनाउने तयारी गरेको बताउँद} सहभागिताको लागि अनुरोध गरे । कार्यक्रममा फोटोग्राफर युवा समूहका अध्यक्ष ओमकार गुरुङले गरेका थिए । कार्यक्रममा समाजका कार्यसमितिका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्यलगायत समाजका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकाको उपस्थिति थियो ।






