लन्डन ८ जनवरी २०२४ । तमु समाज युकेले गुरुङ समुदायको महान् पर्व ल्होछार/ल्होसार (नयाँ वर्ष) भव्य रुपमा मनाएको छ ।
यही ६ जनवरीमा लन्डनको ह्यारो लेजर सेन्टरमा सयौं संख्यामा तमुहरु र अतिथिहरुलाई भेला गराई हि ल्हो (बिरालो वर्ग) को बिदाइ र मुप्ह्री ल्हो (गिद्ध वर्ग) को स्वागत गरी नयाँ वर्ष मनाइएको हो । समाजका अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि ब्रेन्ट काउन्सिलका मेयर काउन्सलर वरलेन ह्याल्टेन थिए ।
कार्यक्रम अध्यक्ष शिवकुमार, प्रमुख अतिथि मेयर काउन्सलर ह्याल्टेन, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । समारोहमा विशेष अतिथि रोयल बरो अफ ग्रीनविचका डिपुटी मेयर काउन्सिलर जित रानाभाट, ब्रेन्ट काउन्सिलका लिडर मोहामद बट, एनआरएनए युकेका अध्यक्षद्वय हित काजी गुरुङ र प्रेम गाहा मगर, आइसीसी सदस्य ले.री. चन्द्र गुरुङ, भूपू गोर्खाका प्रमुखहरु, विभिन्न बरोका काउन्सिलरहरु, बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु, अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहका पूर्व अध्यक्ष माया गुरुङ र बिन्दु घले, युवा समूह, पत्रकारलगायतको बाक्लो उपस्थिति थियो ।
कार्यक्रम संयोजक कमल गुरुङ रहेका थिए भने महासचिव धरमबल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष बिन्दु घलेले स्वागत मन्तव्य राखेकी थिइन् । समारोहमा तमु समाज युके सांस्कृतिक समूहबाट गुरुङ नाच देखाइएको थियो ।
समाजका नयाँ आजीवन सदस्यलाई सम्मान, सन् २०२२–०२३ मा उच्चा शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा समाजको मुखपत्र ‘सलि ट’ लोकर्पण गरिएको थियो भने स्वागत भिडियो गीत रिलिज गरियो ।
यसैबीच, टंकराम गुरुङ र रामचन्द्र गुरुङलाई ‘तमु समाज युके लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२४’, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, ईशा गुरुङ, तमु धीं यूकेका हरि गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्चका कुमार गुरुङ, तमु समाजका हरिमान गुरुङ, जुमबहादुर गुरुङ, लेखनाथ घिमिरे र गोपाल गुरुङलाई पनि सम्मान गरिएको थियो ।






