लन्डन ९ जनवरी २०२४ । तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार (नयाँ वर्ष) को कार्यक्रममा सहभागी हुन चर्चित गायक विश्व दोङ यूके आउने भएका छन् ।
तामाङ समाज युकेका अध्यक्ष कुमार लामाको निमन्त्रणमा गायक दोङ बेलायत आउन लागेका हुन् । उनी फेब्रुअरी १ तारिखमा लन्डनको हिथ्रो विमानस्थल ओर्लने कार्यक्रम छ ।
दोङले तामाङ समाज युके, तामाङ घेदुङ युके र म्हेन्दोमाया समाज युकेले संयुक्त गरुपमा ३ फेब्रुअरी (माघ २० गते)मा आयोजना गर्ने ल्होछार कार्यक्रममा प्रस्तुति दिने कार्यक्रम छ । त्यससँगै १७ फेब्रुअरीमा पनि तामाङ सोसाइटी अफ युकेले आयोजना गर्ने कार्यक्रममा विश्वको प्रस्तुति रहनेछ ।
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका-८ का गायक दोङको स्ह्यार री केसइ याङ तामाङ, घुम्दै फिर्दै, कहाँ पर्यो घर, डम्फू साँझमा, ल्होछार मेला लगायत दर्जनौं गीत लोकप्रिय छन् । वि सं २०५६ सालदेखि विशेष गरी तामाङ मौलिक गीत संगीतमा लागिरहेका दोङले हालसम्म हजारभन्दा बढी गीत गाइसकेका छन् ।
बेलायत आउने भिसा लागेपछि उनले यसपालीको ल्होछार सँगै मनाउन बेलायतवासी नेपाली समुदायलाई अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हेल्लो यूके गुडमर्निङ फ्याफुल्ला । यसपाली ल्होछार सँगै मनाउने भइयो । रमाइलो गरौंला है । धन्यवाद !’






