लन्डन १० जनवरी २०२४ । उच्च शिक्षा हासिल गर्न बेलायत आएपछि ज्यान गुमाएकी कमला गुरुङको परिवारलाई ग्रेटर रेडिङ नेपाली समाज यूके (जीआरएनसीए) को पहलमा संकलित करिब तीन हजार पाउण्ड प्रदान गरिएको छ ।
समाजका अध्यक्ष भिमसेन खड्काले सोमबार २ हजार ९ सय १४ पाउन्ड (झन्डै ५ लाख रुपैया) कमलाका श्रीमान् निरज गुरुङलाई हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा ग्रेटर रेडिङ नेपाली समाज (जीआरएनसीए) का पूर्वअध्यक्ष, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता थियो। अध्यक्ष खड्काले सहयोग पुर्याउने सबैजनालाई धन्यवाद ज्ञापन गरे ।
यसअघि गत नोभेम्बर ३० मा अध्ययनका लागि बेलायत आएकी कमला बिरामी परेपछि डिसेम्बर ३ तारिख रोयल बर्कशायर अस्पताल रेडिङ उपचारार्थ भर्ना भएकी थिइन् । ३१ वर्षीय कमलाको अस्पताल भर्ना भएको केही घण्टामै उपचारका क्रममा ‘एब्डोमिनल ह्याम्ब्रेज’ का कारण निधन भएको थियो । केही साताअघि बेलायतमै उनको अन्त्येष्टि भइसकेको छ ।






