
लण्डन १६ जनवरी २०२४ । रिडिङवासी छन्त्याल परिवारले म्हिलाङे सोङ्ती (माघे सङ्क्रान्ती) भव्यताका साथ मनाएको छ ।
बेलायतको रिडिङस्थित मल्कबाङ् समाजका अध्यक्ष तथा समाजसेवी शेर घरब्जा छन्त्यालको संयोजकत्व तथा बेलायत छन्त्याल संघका उपाध्यक्ष सतिमा छन्त्यालको अध्क्षतामा सम्पन्न म्हिलाङे सोङ्ती (माघे सङ्क्रान्ती) कार्यक्रममा डा.रूपक श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने ८८ वर्षे चन्द्र प्रसाद विशेष अतिथि रहेका थिए ।
भलन्जा छन्त्याल, कुमारी छन्त्याल, किशोर घरब्जा छन्त्याल साथै सम्पूर्ण छन्त्याल परिवारद्वारा हालै प्रकाशित मुकतककार जीत बुढाथोकी छन्त्याल यानीमाया मुक्तक सङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न गरेका थिए । समाजसेवी तथा मल्कबाङ् समाज यू के का अध्यक्ष शेर घरब्जा छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा मु्क्तककार जीत बुढाथोकी छन्त्याल र उनको यानीमाया मुक्तक सङ्ग्रह प्रकाशित गर्न अहम् भूमिका निभाई सहयोग गरेकोमा डा.रूपक श्रेष्ठलाई उपस्थित छन्त्याल तथा गैर छन्त्याल सबैले बधाई स्वरूप खाडा र फूल दिएर सम्मान गरेका थिए ।
कार्यक्रममा जीत बुढाथोकीले छोटो मन्तव्यमा डा.रूपक श्रेष्ठसँग गुरू चेलाको नाता रहेको र उनकै प्रेरणाबाट यानीमाया मुक्तक सङ्ग्रह प्रकाशित गर्न सजिलो भएको भन्दै कृतज्ञता व्यक्त गरेका थिए । यसै क्रममा केही मुक्तक पनि वाचन गरेका थिए भने डा. रूपक श्रेष्ठले यानीमाया पुस्तकको बारेमा साथै मुक्तक के हो र कसरी लेखिन्छ भनेर प्रकाश पारेका थिए ।
साथै उनले छन्त्यालहरूको बारेमा पनि आफ्नो धारणा राख्दै केही मुक्तक वाचन गरे । इमान घरब्जा छन्त्यालले डिजेको भूमिका निर्वाह गरेका थिए भने निलम घरब्जा,कशिश तथब्जा छन्त्याल र रेणु घरब्जा छन्त्यालले नृत्य प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा लोकगायक विनोद रसाइली र लोकगायिका आस्मा छन्त्यालज्यूले गीत गाएर कार्यक्रमका सहभागीहरूलाई नचाएका थिए ।
उक्त कार्यक्रममा रिडिङवासी छन्त्याल महिला दिदीबहिनी समूहद्वारा विभिन्न परिकारका खानपानको व्यवस्था गरेका थिए । जीत बुढाथोकी छन्त्यालका यानीमाया मुक्तक संग्रह अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज बेलायतद्वारा साहित्यकार माया गुरुङको संयोजकमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा जनवरी ७ मा साउथईस्ट लन्डनको रेजिनल तमुधिँ समाजघरमा पनि मुक्तकार प्रतिमा केसीको मुक्तक सङ्ग्रह प्रदेशीको मन प्रख्यात साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह र जीत बुढाथोकीको मुक्तक सङ्ग्रह यानीमायाको संयुक्तरूपमा विमोचन गरिएको थियो।







