उपप्रधानमन्त्री खड्का र बेलायती सेनाध्यक्षबीच शिष्टाचार भेट

SHARE:

काठमाडौं ३० जनवरी २०२४ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए । उनले दुई देशबिच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे ।

उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए । साथै उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दै आएकोमा प्रसन्नता व्यक्त गरे ।

उपप्रधानमन्त्री खड्काले ब्रिटिस सेनामा सेवारत ब्रिटिस गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिस गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेलायतको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे ।

यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकाले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि उनले अनुरोध गरे ।

साथै नेपाल र बेलायतबिचको विगत लामो समयदेखिको सैन्य सहयोग आदान–प्रदान हुँदै आएको र नेपाली सेना र बेलायती सशस्त्र बलहरूले द्विपक्षीय तालिम तथा सहयोग आदान प्रदानमा मिलेर काम गरिरहेको बताए । सन् २०२३ अक्टोबरमा क्याम्ब्रियन गस्तीमा १० नेपाली सेनाले भाग लिएको स्मरण गर्दै नेपाली सेनाका लागि ‘एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल’ होल्डिङ युनिट स्थापना गर्न ब्रिटिस सरकारको तर्फबाट भएको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

सो अवसरमा बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले बेलायत गोर्खा सैनिकबारे उठाएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप जटिल बन्दै गइरहेकोले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा मिलेर काम गर्नुपर्ने अवस्था सृजना भएको बताए ।

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा शान्ति सैनिक खटाउने दोस्रो ठुलो राष्ट्रको हैसियतमा नेपालको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्दै उनले बेलायतले आगामी दिनमा नेपालसँग थप सहकार्य गर्ने इच्छुक रहेको बताए । उनले बेलायतको प्रतिकुल आर्थिक अवस्थाको बाबजुद पनि नेपाललाई उपलब्ध हुँदै आएको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने विश्वास समेत दिलाए ।

शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै बेलायती राजदूत एवम् अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!