लण्डन २ फेब्रुअरी २०२४ ।

स्कटल्यान्डको एबर्डिनमा आगलागी हुँदा निसासिएर नेपाली दिदीबहिनीको मृत्यु भएको छ ।
एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको ।
एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा. शिव तिवारीका अनुसार आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसासिएर सुवेदी दिदीबहिनीले ज्यान गुमाएका हुन् । उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी शुरु भएको थियो ।
आगलागी भएको थाहा पाउनेबित्तिकै हतार-हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसासिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए । आगो शुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भूईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्यु भएको थियो ।
आगलागी कसरी शुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएको थियो ।






