एटा संवाददाता
अल्डरसट । गुरुङ चलचित्र ‘प्हा’ अर्थात् रक्सीको रेड कार्पेट शो सम्पन्न भएको छ ।
गत शुक्रबार २४ अगस्ट साँझ अल्डरसरस्थित एम्पायर हलमा सो चलचित्रकी नायिका पुनम गुरुङको विशेष उपस्थितिमा कार्पेट शो गरिएको हो । गुरुङहरुको संस्कृतिमा ‘प्हा’ अर्थात् रक्सीको महत्व, यसले ल्याएको विकृति र विसंगतिलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ ।
ङ्योए फिल्म प्रोडक्सन प्रालिको पहिलो कोसेलीको रुपमा प्रस्तुत् चलचित्र नेपाल र हङकङमा प्रदर्शन भइसकेको छ भने बेलायतमा पहिलो पटक प्रदर्शन गरिएको हो । विशेष प्रदर्शनको क्रममा चलचित्रकर्मी तथा वरिष्ठ गीतकार पूर्वप्रअ एकेन्द्र गुरुङले गुरुङ चलचित्रले गुरुङहरुको भाषा, कला र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नका लागि विशेष भूमिका खेल्ने बताउँदै गुरुङ चलचित्र हेर्नुपर्ने जोड दिए । सो अवसरमा उनलाई चलचित्र निर्माता सोम तमुले सम्मान समेत गरे ।
त्यस्तै, तमु मै ताँ नामक गुरुङ भाषाको टेलिभिजन कार्यक्रमको प्रस्तोतासमेत रहेकी नायिका गुरुङले तमुधिं युकेको आयोजना हुन लागेको नेपाली मेलाका लागि आफू बेलायत आएको बताउँदै चलचित्र हेर्न आएका दर्शकहरुलाई धन्यवाद दिइन् ।
सो अवसरमा तमु संसार नामक पत्रिकाका तर्फबाट पूर्वप्रअ एकेन्द्र गुरुङले निर्माता सोम तमु र नायिका गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो ।
बेलायतवासी तमु दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको चलचित्र गुरुङहरुको संस्कार संस्कृतिमा आधारित भएको, छायांकन पक्ष अब्बल दर्जा रहेको र चलचित्र सन्देशमूलक भएको धेरै दर्शकहरुको भनाइ थियो ।
चलचित्रमा सोम तमु (युके), सूर्य तमु (युके), गमबहादुर तमु (बराहइन), प्रेमबहादुर तमु (हङकङ), दुर्गाराज तमु (हङकङ), भोजेन्द्र तमु (हङकङ), चिजमान तमु (हङकङ), डमर तमु (हङकङ) र रेखा तमुस्यो (पोखरा) निर्माता रहेका छन् । त्यस्तै, दिया गुरुङ, पुनम गुरुङ र साजन गुरुङको विशेष भूमिका छ ।
२ घण्टा ३० मिनेट लामो चलचित्रमा तिलक तमु (साउदी अरब), सुवास तमु (हङकङ), शरद तमु कालु (हङकङ) र कृष्णकुमार तमु पोखराको गीत तथा संगीत रहेको छ भने गेरे गुरुङले नृत्य निर्देशन, जितमान तमुको सम्पादन, कृष्णकुमार तमुको पटकथा, जितमान तमु र पुस्कर थापाको छायांकन रहेको चलचित्रलाई जितमान तमुले निर्देशन गरेका छन् ।






