लण्डन २५ फेब्रुअरी २०२४ ।

परराष्ट्रमन्त्री एनपी साउँदले नेपाली डायस्पोराले विदेशमा नेपालीको पहिचान र छविको प्रवर्धन मात्र नगरी मातृभूमि र कर्मभूमिबिच सेतुको रूपमा पनि काम गर्दैआएको बताएका छन् ।
लण्डनस्थित नेपाली राजदूतावासले बेलायतमा रहेका विभिन्न क्षेत्रका नेपाली पेसाविद्सँग गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउँदले सरकारी निकायको उच्च ओहोदामा रही दुई देशको सम्बन्धलाई घनीभूत पार्ने र व्यावसायिक सीप सिकेर स्वदेशमा लगानी गरी राष्ट्रिय रूपान्तरणको अभियानमा डायस्पोराले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले नेपालमा वित्तीय पुँजीको अभाव मात्र नभई ज्ञान, सीप तथा अनुभवजस्ता मानवीय पुँजीको पनि खाँचो रहेको अवस्थामा यसको परिपूरण गर्न विदेशमा रहेका नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहने बताए ।
आप्रवासी नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीका साथै सञ्जाल र पहुँचलाई राष्ट्रिय विकासमा उपयोग गर्दै नेपालको कला, भाषा, संस्कृति एवम् विविध प्राकृतिक, ऐतिहासिक सम्पदाको संवर्द्धन र प्रवर्धन गर्न आप्रवासी नेपालीलाई परिचालन गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारे ।
संयुतm अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबिच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध सहयोग र सहकार्यमा बिस्तार भएको बताए । उनले विदेशमा आर्जन गरेको ज्ञान, दक्षता र अनुभवको प्रयोग गरेर विदेशमा बस्ने नेपालीले देशलाई जोडेको बताउँदै नेपालको विकासमा उहाँहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. टङ्क बाराकोटीले स्वास्थ्य सेवा पुग्न नसकेका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा सुरु गर्न लागेको जानकारी दिँदै नेपालमा विद्यमान स्वास्थ्य चुनौती हेर्दा जनशक्ति र साधन श्रोत पर्याप्त नभएको बताए । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.चोपलाल भुसालले बेलायतजस्तो विकसित मुलुकमा रहेर काम गरी रहेका नेपाली चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राध्यापकलाई आफूसँग भएको ज्ञान र सीप नेपाली स्वास्थ्यकर्मीसँग बाँड्न आग्रह गरे । नेपाल नर्सिङ परिषद्की अध्यक्ष प्रा.सरला केसीले गत वर्षमा करिब ३२ हजार नर्सहरूले विदेश जान भेरिफिकेशनपत्र लिएको पनि जानकारी दिए ।
बेलायतमा कार्यरत अस्पताल व्यवस्थापन विशेषज्ञ डा. बच्चु कैलाश कैनीले नेपालमा अस्पताल व्यवस्थापनको जिम्मा चिकित्सकलाई नभएर योग्य व्यवस्थापकलाई दिनु पर्ने सुझाव दिए। उनले अस्पताललाई व्यावसायिक ढङ्गले सञ्चालन गर्नुपर्ने र नेपाल सरकारले निजी क्षेत्रका अस्पतालको पनि नियमित अनुगमन गर्नुपर्ने बताए ।
अक्सफोर्ड भ्याक्सिन समूहका डा. सोनु श्रेष्ठ तथा डा.प्रमीला रिजाल, जैविक प्रविधिसम्बन्धी अनुसन्धान कर्ता प्रज्ज्वल राजभण्डारी, वाटर एड युकेमा कार्यरत पानी तथा सरसफाइ विशेषज्ञ डा। ओमप्रसाद गौतम, शैक्षिक विकास ट्रष्टका डा. सगुन श्रेष्ठले पनि कार्यक्रममा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन युकेका अध्यक्ष डा. सञ्जीव नेपाली, पूर्व अध्यक्षद्वय डा.कमल अर्याल, डा.रमेश कोजु तथा नेप्लिज नर्सेस एसोसिएसन युकेकी अध्यक्ष सुनिता गौतम थापाले आफ्नो संस्थाले गरेका कामहरूबारे प्रकाश पारे ।
अन्तरक्रियाको दोस्रो चरणमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल सङ्घीय प्रणालीमा गएपछि विद्यालय शिक्षाको व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण भएको बताए । उनले गत वर्ष झन्डै एक लाख २५ हजार विद्यार्थीले विदेशमा पढ्न जान नो अब्जेक्शन लेटर लिएको बताउँदै नेपालको शिक्षा प्रणालीलाई रोजगारसँग जोड्न सरकारले काम गरिरहेको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.कृष्णप्रसाद बस्याल, काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। अच्युत वाग्ले तथा पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीले बेलायतमा कार्यरत नेपाली प्राध्यापक तथा अनुसन्धानकर्ताहरुसंग सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा। सूर्यप्रसाद सुवेदीले बेलायतस्थित नेपाली प्राज्ञ तथा अनुसन्धानकर्ताले नेपाली विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग मिलेर सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा नेप्लिज एसोसिएसनका अध्यक्ष दीपक भट्टराई, व्यारिष्टर स्नेहा श्रेष्ठले कानुनी अभ्यास र प्रयोगबारेमा प्रस्तुति दिएका थिए । सो अवसरमा नेपाल सरकारका सचिव लीला गडतौला, नेपाल वार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल, कानुन तथा संसदीय व्यवस्था मन्त्रालयकी सहसचिव अरुणा जोशीले पनि आफ्नो धारणा राखे ।
कार्यक्रममा नेपाल र बेलायतको लेखा प्रणालीका बारेमा नेपाल र बेलायतमा रहनु भएका विज्ञहरूले आफ्नो धारणा राखेका थिए । महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक पदमराज पौडेल, नेप्लिज एकाउन्टेन्ट एसोसिएसन युकेका अध्यक्ष शशीधर नेपाल, दि इन्स्टिच्युट अफ चार्टर एकाउन्टेन्ट अफ इन्डिया, युके च्याप्टरका अध्यक्ष कृष्णप्रसाद दाहाल र नेपाल चार्टर एकाउन्टेन्टका सञ्जय सिन्हाले लेखा प्रणालीमा देखिएका चुनौती र कार्यान्वयनबारेमा धारणा राखेका थिए ।
दुई दिने अन्तरक्रियाको दोस्रो दिन इन्जिनियरिङ, सूचना तथा प्रविधि एवं वैज्ञानिक अनुसन्धान तथा अर्थशास्त्र वित्त एवं सम्पत्ति व्यवस्थापन विषयमा छलफल गरिने दूतावासले जनाएको छ ।






