लन्डन ७ मार्च २०२४ । बेलायतमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको यही २५ मार्च २०२४ मा अन्त्येष्टि गरिने भएको छ ।
तामाङ सोसाइटी अफ युकेको सहयोग र सहभागितामा हिलिङडन काउन्सिलअन्तर्गत ब्रेकस्पेयर रोडमा पर्ने ब्रेकस्पेयर क्रिमेटोरियममा सन्दीपको अन्त्येष्टि कार्यक्रम रहेको तामाङ सोसाइटी अफ युकेका महासचिव मनी तामाङले जानकारी दिए । उनले तामाङ सोसाइटी युकेका अध्यक्ष ज्ञान तामाङको संक्षिप्त भनाइपछि बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका लामागुरुबाट सन्दीपको पार्थिव शरीरमा अग्नि दिने कार्यक्रम रहेको बताए । उनका अनुसार अन्त्येष्टि बिहान साढे ९ देखि १० बजेसम्म हुनेछ ।
मलामी चोख्याउने र जलपानको व्यवस्थासमेत तामाङ सोसाइटी युकेले गर्नेछ ।
पुर्ख्यौली घर तेह्रथुम जिल्ला भई ललितपुर महानगरपालिका १४ नखिपोट निवासी बेनकुमार तामाङ र डोलमाया तामाङका छोरा सन्दीपको गत जनवरी २० तारिखमा हिलिङडन काउन्सिलअन्तर्गत हेज टाउन नजिकै पार्कमा शव फेला परेको थियो । उनी २०२२ मार्च १ मा ‘स्किल्ड’ भिसामा बेलायत आएर काम गर्दै आएका थिए ।
बेलायतमा आफन्त कोही पनि नभएका सन्दीपको शव फेला परेपछि स्थानीय प्रहरीले नेपाली दूतावास लन्डनलाई शव बुझिदिन आग्रह गरेको थियो । दूतावासले बेलायतमा रहेका विभिन्न संघ संस्थाहरुलाई खबर गर्यो । जसमा तामाङ सोसाइटी अफ युकेका पूर्वअध्यक्ष धर्म तामाङलाई फोनबाट जानकारी गराइयो । त्यसपछि पूर्वअध्यक्ष तामाङले सोसाइटीका अध्यक्ष ज्ञान तामाङ र महासचिव मनि तामाङलाई सन्दीवको शव भेटिएको बारे जानकारी गराएका थिए ।
त्यतिबेलासम्म शव बेलायतको कोरोनर वेस्ट अफ लन्डन (Coroner West of london) मा रहेको स्वतन्त्र न्यायापालिकालाई हस्तान्तरण भइसकेको थियो । कोरोनर वेस्ट अफ लन्डनले शव पोस्टमार्टम र अनुसन्धान गर्न १६ हप्ता लाग्छ भनेर इमेलमार्फत लन्डन दूतावासलाई खबर गर्यो । उक्त जानकारीपछि तामाङ सोसाइटीका महासचिव तामाङले कोरोनर वेस्ट अफ लन्डनमा उक्त शव तामाङ परम्पराअनुसार दाह संस्कार गर्न पाउँ भनी इमेलमार्फत निवेदन लेखेका थिए । उक्त निवेदन स्वीकृत भएपछि अन्त्येष्टीको कार्यक्रम टुंगो लागेको महासचिव तामाङले जानकारी गराए । उनले सन्दीपको अन्तिम संस्कारमा सहभागी भइदिन बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रहसमेत गरेका छन् ।
सन्दीपको अस्तु नेपाल पठाउने व्यवस्था तामाङ सोसाइटी यूकेले गर्ने महासचिव तामाङले बताए ।






