लन्डन ८ मार्च २०२४ । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले सामाजिक अभियन्ताहरु सपना रोकामगर र सुजना थापा श्रीसलाई आर्थिक सहयोग गरेको छ ।
बेवारिसे शव व्यवस्थापनबाट चिरपरिचित समाजसेवी सपना र क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजनालाई जनही ७ सय पाउन्डका दरले सहयोग हस्तान्तरण गरेको महासचिव प्रमिला लाबुई राईले जानकारी दिइन् । ‘गैर आवासीय नेपाली संघ बेलायतले क्रियटिभ आर्टको संस्थापक साथै गोर्खा वुमन एन इको इन द स्टोरी डकुमेन्ट्रीको निर्मात्री सुजना थापा श्रीस र बेबारिसे लास जलाउने सामाजिक अभियन्ता साथै बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगरलाई उहाँहरुको फाउन्डेसनलाई केही सहयोग पुगोस् भन्ने हेतुले सात सय पाउन्डको दरले पैसा हस्तान्तरण गरिएको छ,’ महासचिव राईले भनिन् ।
सामाजिक अभियन्ताद्वयलाई सहयोग रकमको चेक एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरमार्फत प्रदान गरिएको थियो ।
सपनाको चाहना समृद्ध नेपाल (सपना फाउन्डेसन) की अध्यक्षसमेत रहेकी सपना गत २२ डिसेम्बर २०२३ शुक्रबार बेलायत आएकी हुन् । युवा चित्रकार सुजाना २२ फेब्रुअरी (फागुन १० गते) लन्डन आइपुगेकी हुन् ।






