लण्डन ८ मार्च २०२४ ।

महाशिवरात्रि पर्व शुक्रबार बेलायतवासी नेपालीहरुले पनि भगवान शिवको पूजा आराधाना गरी मनाएका छन् ।
बेलायतमा नेपाली समुदायकै पहलमा स्थापित लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर, अल्डरटस्थित शिव कल्चरल सेन्टरलगायतमा सयौँ भक्तजनको घुइँचो लागेको छ । लन्डन पशुपतिनाथ मन्दिरमा शिवरात्रिको अवसरमा दिनभर विविध कार्यक्रम सञ्चालन भइरहेका छन् ।
मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरेका अनुसार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म खुला मन्दिरमा भगवान शिवको पूजा आराधानासंगै आरती र भजनकिर्तन पनि चलेको थियो । भक्तजनहरु लाइनमा बसेर मन्दिर प्रांगडमा शिवलिंगमा दुध चढाएर आफ्नो भक्तिभाव प्रकट गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालले मध्यान्हसम्म करिब ५ सय भक्तजनले मन्दिर दर्शन गरेको बताए। बेलुकासम्म एक हजार भक्तजनको सहभागिता अपेक्षा गरिएको जनाउँदै अध्यक्ष अर्यालले मन्दिरका तर्फबाट सबैलाई चिया-प्रसाद् व्यवस्था गरिएको जानकारी दिए।
उता, अल्डरसटको शिव कल्चरल सेन्टरमा पनि बिहानैदेखि मन्दिर दर्शन गर्ने र भगवान शिवको पूजा आराधाना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य दम्पति, बेलायत भ्रमणमा आएकी भरतपुर मेयर रेनु दाहाल लगायतले पनि मन्दिर दर्शन गरेर शिवरात्री पूजा गरेका छन् ।
सेन्टरका अध्यक्ष विक्रम भट्टराईले शिवरात्रिको अवसरमा पूजा आराधाना, भजनकिर्तनका लागि मन्दिर दिनभर खुला राखिएको बताए । सयौँ भक्तजनले मन्दिर दर्शन गरी पूजाआजा गरिसकेको उनले जानकारी दिए ।






