जय तामाङ
लन्डन १ अप्रिल २०२४ । स्वीन्डनका महिमा चर्च र फेथ हिमालयन चर्चले संयुक्त रुपमा इस्टर मनाएका छन् ।
आइतबार ३१ मार्च २०२४ मा स्वीइन्डनस्थित डोम हल तथा बुखर्स्ट कम्युनिटी हलमा दुवै संस्थाले भव्यताका साथ इस्टर मनाएका हुन् । स्वीइन्डनमा नेपालीहरुको चर्च ६ वटा भए पनि यस पटक २ वटा चर्चले मात्रै एकै ठाउँमा इस्टर मनाएका हुन् ।
कार्यक्रम प्रेम गुरुङले संचालन गरेका थिए भने स्तुति प्रशंसाको अगुवाइ आशेर गुरुङले गरेको थिए । इस्टरको शक्तिशाली वचन महिमा चर्चका पास्टर ज्ञान सिंह गुरुङले बाँडेका थिए । अरियाना गुरुङ, सुरक्षा गुरुङ र समर्पण तामाङले केही भजन गाएका थिए ।
पिटर घलेले पियानो बजाएका थिए । ज्योति लिम्बूले सूचना सुनाएका थिए भने नन्द पुनले वचन र भेटीको लागि प्रार्थना गरेका थिए । उक्त इस्टर कार्यक्रममा करिब ६० जनाको उपस्थिति रहेको थियो । अन्तमा फेथ हिमालयन चर्चका पास्टर गोपाल राईले कार्यक्रम समापन तथा अन्तिम आशीषको प्रार्थना गरेका थिए ।
ईसाइहरुको दोस्रो महान् चाड इस्टर संसारभर भव्यरुपमा मनाउने गर्दछ । येशु ख्रीष्टलाई शुक्रबारको दिन क्रुसमा झुण्ड्याएको दिनलाइ गुड फ्राइडेको रुपमा मनाउने गर्दछ । गुड फ्राइडेको दिन सरकारी कार्यालयहरु र बैंकहरु बन्द हुने भएकोले बैंक होलिडे पनि भन्ने चलन छ । स्कुलहरु भने दुई हप्ताको लागि बन्द हुने गर्दछ । आइतबारको दिन येशु ख्रीष्ट मरेर पनि मानवहरुको उद्धार र मुक्तिको लागि बौरी उठेको दिन अथवा रेजुरेक्सन डे भनेर मान्ने चलन छ ।







