लन्डन १५ अप्रिल २०२४ । बुद्ध फाउन्डेसन यूकेले आगामी २ जुन आइतबार वुल्लीचमा बुद्धजयन्ती मनाउने भएको छ ।
लन्डनको ट्राफल्गर स्क्वायरमा वर्षेनी हुँदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डन वुल्लीचमा आयोजना हुने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार ट्राफल्गर स्क्वायरमा मर्मतसम्भार कारणले नियमित स्थान उपलब्ध नभएपछि वुल्लीच आर्सनलको गोडर्न स्क्वायरमा कार्यक्रम गरिन लागेको हो ।
कार्यक्रम दिउँसो २ देखि साँझ ७ बजेसम्म हुनेछ । यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक समेत रहेकी उपाध्यक्ष प्रसुना कँडेलका अनुसार कार्यक्रम तयारीका सम्बन्धमा यसै साता लन्डन दूतावाससँग एक छलफल हुने भएको छ । कार्यक्रमको लागि विभिन्न विदेशी कूटनीतिक प्रतिनिधिका साथै अन्य विशिष्ट अतिथिमा कसलाई निम्त्याउने भन्नेबारे पनि दूतावाससँग छलफल गरिनेछ ।
फाउन्डेसनले जुन २ को कार्यक्रममा सहभागिताका लागि बेलायतवासी सम्पूर्ण नेपालीहरुमा अपिल गर्दै उक्त दिन कुनै कार्यक्रम नजुधाइदिन सबै नेपाली संघसंस्थालाई आग्रह गरेको छ । यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक उपाध्यक्ष प्रसुना कंडेल तथा सहसंयोजक ह्यारी गुरुङ छन् भने सांस्कृतिक संयोजक सुर्जे गुरुङ र आर्थिक संयोजक राजन खकुराल हुन् ।
फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले बुद्धजयन्ती कार्यक्रमलाई सफल पार्न बेलायतवासी सबै नेपाली र संघसंस्थाको सक्रिय साथ एवम् सहभागिताका लागि आह्वान गरेका छन् ।






