![]()
लन्डन १७ अप्रिल २०२४ । बेलायतवासी पूर्वगोर्खा निर्मल पुर्जा (निम्स दाइ) ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोही बनेका छन् ।
उनले नयाँ वर्षका दिन शनिबार विश्वकै दसौं अग्लो ८ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमालमा यो उनको ४४ औं आरोहण हो ।
शनिबार अन्नपूर्ण आरोहण सकेर सोमबार काठमाडौं फर्किएका निम्स दाइको अब यात्रा तिब्बतमा पर्ने विश्वको १४औं अग्लो शिखर सिसापाङ्मा रहेको छ । हिउँदयाममा पहिलोपटक विश्वकै दोस्रो अग्लो हिमाल केटू तथा विश्वका १४ वटा अग्ला शिखर सबैभन्दा द्रुत गतिमा आरोहण गर्नेलगायत तीन दर्जन बढी रेकर्ड निम्स दाइका नाममा रहेका छन् ।
म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ हाल नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन् । अचेल उनी गाइडबिना ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्दै आइरहेका छन् । उनको आरोहण कम्पनी इलाइट एक्सपिडका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार, निम्स दाइ सिसापाङ्माको आरोहण अनुमतिको पर्खाइमा छन् ।
निम्स दाइले सिसापाङ्माको आरोहण तत्काल नहुने भए पूर्वी नेपालको मकालु आरोहण गर्ने बताए । १६ वर्ष बेलायती सेनामा काम गरेका निम्स दाइले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष उनले पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए । १२ वर्षको छोटो अवधिमा ४४ पटक विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौं रेकर्ड बनाएका निम्स दाइले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए ।






