
पोखरा ३० अप्रिल २०२४ । पर्वतको साङङाग दोर्जे छोयालिङ गुम्बालाई तमु समाज युकेले सात लाख ७० हजार ५०० रुपैयाँ सहयोग गरेको छ । सोमबार समाजका अध्यक्ष शिवकुमार गुरुङले गुम्बाको पुनः निर्माण र स्तरोन्नतिका लागि उक्त रकम प्रदान गरेका हुन् ।
उक्त रकम समाजका विभिन्न सदस्यहरूबाट संकलन गरिएको थियो । जसमा अध्यक्ष गुरुङ र श्रीमती मिना गुरुङले १ लाख १५९, तमु समाज युकेका आमा समिति अध्यक्ष उमादेवी गुरुङ र सल्लाहकार रामचन्द्र गुरुङले १ लाख ५, सल्लाहकार उदय गुरुङ र श्रीमती विमला गुरुङले १ लाख १ सय ८ रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी, तमु समाज युकेको कोष बाट १ लाख रुपैया र कार्य समितिका सदस्य, सल्लाहकार हरु र आजीवन सदस्यबाट र ३ लाख ७० हजार २२८ रुपैयाँ संकलन भएको थियो । आर्थिक संकलनका क्रममा समाजका कोषाध्यक्ष खेमबहादुर गुरुङ र महासचिव धरम बल गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमादेवी गुरुङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
रकम हस्तान्तरणका कार्यक्रमका प्रमुख अतिथि तथा समाजका अध्यक्ष गुरुङले पर्वतको २४४ वर्ष पुरानो गुम्बाको पुनः निर्माण र प्रचार-प्रसार गरी साझा धार्मिक स्थलका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । राज्यबाट थप सहयोग ल्याउनका लागि पहल र प्राप्त रकमको पारदर्शी रूपमा परिचालन गर्नसमेत उनले सुझाए । कुस्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कस्थित गुम्बा १८३६ सालमा स्थापना गरिएको उल्लेख छ ।






