लन्डन ३ मे २०२४ । फोक्सटोन नेपाली समाजले नलगाड नगरपालिका २ जाजरकोट स्थायी घर भई केन्टमा बसोबास गरेका बेदराज खत्रीको शव नेपाल पठाउन सहयोग संकलन अभियान थालेको छ ।
३१ वर्षीय खत्रीको गत ३० मार्च २०२४ का दिन विलियम हार्भे हस्पिटल, आशफोर्डमा निधन भएको थियो । उनको निधन के कारणले भयो भन्नेबारे कोरोनरको अन्तिम रिपोर्ट आउन अझै बाँकी छ । स्वर्गीय खत्रीको पूर्वश्रीमती आफ्नी तीन वर्षीय छोरीसहित फोक्सटोनमै बसिरहेकी छन् भने खत्रीको बाबा आमा नेपालमै छन् ।
गत वर्ष नोभेम्बर महिनामा पश्चिम नेपालमा आएको भूकम्पबाट प्रभावित खत्रीको परिवारमाथि अर्को चोट परेको छ । उनका वृद्ध बाबुआमाले आफ्नो जेठो छोरा बेद खत्रीको अनुहार हेर्न साथै अन्तिम दर्शन तथा दाह संस्कारका लागि नेपाल पठाइ दिन आग्रह गरेका छन् । उनको शव नेपाल पठाउन झन्डै ५ हजार पाउन्ड खर्च लाग्ने अनुमान गरिएको छ । “बेद खत्रीका परिवारजनले अनुरोध गर्नु भएकाले हामीले स्वर्गीय खत्रीको शव नेपाल पठाउन सहयोग संकलन अभियान शुरु गरेका छौं। यो मानवीय कार्यमा सक्दो सहयोग गरीदिनु हुन हामी बेलायतस्थित नेपाली संघसंस्था तथा सबै सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दछौं,” फोक्सटोन नेपाली समाजका अध्यक्ष सेवानिवृत्त क्याप्टेन राम बहादुर पुनले भने । उनले उठेको सबै रकमको हिसाबकिताब सार्वजनिक गरिने पनि बताए ।
सम्पूर्ण बेलायतवासी नेपालीलाई यस परोपकारी काममा सहयोग गर्न र थप जानकारी चाहिए अध्यक्ष क्याप्टेन पुनलाई सम्पर्क गर्न पनि समाजले अनुरोध गरेको छ । सहयोग रकम ५ हजार पाउन्ड पुग्ने बित्तिकै वा मे महिना सकिएपछि सहयोग संकलन स्थगित गरिने समाजले जनाएको छ ।






