बेलायतमा भीम सारुमगर र दिनेश खड्का काउन्सिलरमा निर्वाचित

SHARE:

लन्डन ४ मे २०२४ । भूतपूर्व गोर्खा भीम सारुमगर र दिनेश खड्का बेलायतको काउन्सिलर पदमा निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न यहाँको स्थानीय निर्वाचनमा वार्विकशायरको ननिटन् एन्ड बेडवर्थ बरोको सेन्ट मेरिज् वडाको काउन्सिलरमा सारुमगर र मेडस्टोन बरो काउन्सिलको हाइ स्ट्रीट वार्डबाट खड्का निर्वाचित भएका हुन् ।

निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार सारु सर्वाधिक ८ सय ९ मत प्राप्त गर्दै विजयी बने । पाल्पा घर भएका पूर्व गोर्खा सारु बेलायतको नेपाली समुदायमा पनि सक्रिय रहँदै आएका सामाजिक अभियन्ता हुन् । उनी पूर्व गोर्खाहरुको संस्था ब्रिटिश गोर्खा भेट्रान एशोसिएसन यूकेमा अध्यक्ष छन् ।

यस्तै तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित खड्का पछिल्लो पटक सन् २०२३ मा ४ वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए, तर मेडस्टोन बरो काउन्सिलको सीमा परिवर्तनले गर्दा फेरि चुनाव गराइएको थियो । पेसाले खाद्य वैज्ञानिक तथा खाद्य विज्ञानमा पीएचडी पुरा गर्ने अन्तिम चरणमा रहेका खड्काले शहरमा स्वच्छ पर्यावरण, सबैका लागि हरियाली, स्थानीय बासिन्दाका लागि गुणस्तरीय आवास र यातायात सेवामा सहज सार्वजनिक पहुँचलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।

विगत ६ वर्षदेखि लिबरल डेमोक्रेटिक पार्टीबाट निर्वाचित काउन्सिलरको रुपमा कार्यरत खड्काले आफ्नो कार्यकालमा स्थानीय सडक मर्मतसम्भार, सार्वजनिक मार्ग पुन: निर्माण, फोहोरमैला व्यवस्थापन, पैदल यात्रु क्रसिङ, पार्क मर्मत, बत्ती जडान जस्ता कामहरू पुरा गरेको बताए ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय कोलिस मिलेनियम ग्रीन ट्रस्टसँग समन्वय गरी लगभग ४०० बिरुवा रोप्नका लागि जमिन छुट्याउन सकेकोमा मलाई धेरै खुसी लागेको छ,’ खड्काले भने । केन्ट प्रहरीमा गएको १५ वर्षदेखि स्वयंसेवी सल्लाहकार साथै स्थानीय ट्रस्टको बोर्ड ट्रस्टीको रूपमा काम गरिसकेका खड्काले सन् २०१७ देखि स्थानीय बेलायती समाजसँग मिलेर होली पर्व मनाउन सुरु गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!