दुत पुन (चिम्खोले काइँला)
उमेरले साठी छुन लागेको भए पनि पत्रकारिता क्षेत्रमा भने कलिलै छु । जति उमेर ढल्किँदै जान्छ उति पत्रकारितासँगको मायाजालमा फसेजस्तो अनुभव भइरहेको छ । हो, साँच्चिकै भन्नुपर्दा म पत्रकारिताको लतमा फसेको छु । जति अनुभव बटुल्दै जान्छु, उति पत्रकारिताको क्षेत्रमा सिक्नुपर्ने महासागर देखिरहेको छु । यसो भनिरहँदा कुनै कुनै बेलायतका नेपाली पत्रकारले चिम्खोले काइँला पत्रकार होइनन् भन्ने गरेको कुरा सम्झन्छु । साँच्चिकै भन्ने हो भने मैले पत्रकारिता थालनी गर्दा अहिले बेलायतमा नेपाली पत्रकार हुँ भन्नेहरूमध्ये केहीको त जन्म पनि भएको थिएन जस्तो लाग्छ । उहाँहरूकै टीकाटिप्पणीका कारण मलाई झनै अघि बढ्ने प्रेरणा प्राप्त भएको छ । चिम्खोले काइँला उमेरले जेठो र पत्रकारितामा कान्छो भए पनि हिम्मतका साथ यो महासागरमा डुबुल्की मार्न खोजिरहेको छ ।
मेरो पत्रकारिता सुरुवातको सन्दर्भमा एउटा प्रसंग जोड्न चाहन्छु । म सन् १९८२ मा ब्रिटिस आर्मीमा भर्ना भएँ । आधारभूत तालिम हङकङस्थित मलाया लाइन्समा लिएँ । त्यसपछि ६ गोर्खा राइफल्समा छानिएँ । त्यस बेला ६ गोर्खा राइफल्स ब्रुनाईस्थित टुकर लाइन्समा थियो । त्यसैले सन् १९८२ को अन्त्यतिर म हङकङबाट ब्रुनाईतिर हानिएँ । त्यही ‘पर्वते’ पाक्षिक पत्रिका पढ्ने मौका मिल्यो । उक्त पत्रिकामा आफ्ना अग्रज दाज्यूहरूबाट लिखित कथा, कविता तथा आआफ्नो बटालियनमा सञ्चालन गरिएका गतिविधिहरूलाई नेपाली तथा अंग्रेजी भाषामा सम्पादन गरेको समाचारहरू पढ्ने मौका मिल्यो । त्यही प्रेरणाले मैले पनि समयसमयमा आफ्नो प्लाटुन, कम्पनी तथा बटालियनमा सञ्चालन गरिएका विभिन्न गतिविधिहरूलाई पर्वते पाक्षिक पत्रिकामा नेपाली र अंग्रेजी भाषामा लेखेर पठाउन थालेँ । समयसमयमा बिएफबिएस गोर्खा रेडियोमार्फत उक्त गतिविधिहरूलाई बाचन गर्ने गर्थें । यो काम अवकाश हुने बेला सन् २००२ सम्म जारी रह्यो । तर त्यसबेला मैले गरिरहेको काम पत्रकारिता हो भन्ने थाहा थिएन । अहिले आएर बुझ्दा मैले पत्रकारिता सन् १९८३ तिरबाटै सुरु गरेको रहेँछु ।
ब्रिटिस आर्मीबाट अवकाशपछि भूपू गोर्खा सैनिकहरूको हक अधिकार प्राप्तिका लागि खोलिएको संस्था ब्रिटिस गोर्खा वेलफेर सोसाइटी (बिजिडब्लुएस) तथा मगर संघ, युकेमा आबद्ध भएँ । ती संस्थाहरूमा काम गर्दा मिडियाको ठूलो भूमिका रहने देखेँ÷बुझेँ । गोर्खा आन्दोलन र सामाजिक अभियानहरूलाई अगाडि बढाउन युकेमा सञ्चालित मिडियाहरूसँग सम्पर्क तथा समन्वय गरेँ । त्यही बेला मिडियामा आबद्ध गैरलाहुरे साथीहरूले लाहुरे तथा तिनका परिवारहरूलाई कतिसम्म हेप्दा रहेछन् भन्ने अनुभव भयो । त्यही कारण रेडियो बिजिडब्लुएसको जन्म भयो । त्यसको संस्थापक संयोजकको जिम्मेवारी मैले नै बहन गरेको थिएँ । पत्रिका प्रकाशन गर्ने जिम्मेवारी डा. चन्द्र लक्सम्बाले पाउनुभएको थियो । गौरवको कुरा, रेडियो बिजिडब्लुएस अझै सञ्चालनमै छ । विडम्बना नै भनौँ, पत्रिका युरोपको नेपालीपत्रमा परिणत भएको छ । सन् २००८ तिरको कुरा हो– युकेमा नेपाली सन्देश र नेपालीपत्र साप्ताहिक पत्रिकाका रूपमा प्रकाशित हुन्थे । जुन समयमा त्यति धेरै नेपालीहरू पनि थिएनन् । नेपाली सन्देश र नेपालीपत्र त्यस बेला बेलायती नेपाली समाजका पर्याय नै थिए । तर एक समूह साथीहरूलाई के झोंक चलेछ कुन्नि, एभरेस्ट टाइम्स प्रकाशन गर्ने भन्दै मलाई पनि सेयर होल्डर बन्नुपर्यो भन्ने प्रस्ताव गरे । दुई–तीन पटकसम्म तर्काएँ पनि तर अन्त्यमा ती साथीहरूले मलाई छाडेनन् । सेयर होल्डन बन्ने निधो गरेँ । त्यसमा पत्रिका सञ्चालन गर्ने गैरलाहुरेहरूको हेपाहा प्रवृत्ति मुटुमा किलोजस्तै गडेको थियो ।
अब कामको बाँडफाँट सुरु भयो । चिम्खोले काइँलाले संवाददाता र ग्राहक बनाउने जिम्मेवारी पायो । पाएको जिम्मेवारी अन्य सेयर होल्डरले भन्दा अग्रस्थानमै रहेर निभाएँ । विडम्बना अन्य सेयर होल्डर साथीहरूले आआफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ वहन गरेनन् । व्यक्तिगत स्वार्थले काम गर्दा पत्रिकालाई राजनीतिक पार्टीको मुखपत्रजस्तो बनाउन खोज्दा पत्रिका दुई वर्षमा मरणासन्न अवस्थामा पुग्यो ।
एभरेष्ट टाइम्स करिब करिब अवशानको अवस्थामा पुग्यो । १६ जना सञ्चालकहरूको तीन तीन हजारका दरले उठाएको ४८ हजार पाउण्ड एकै वर्षमा खर्च भयो । अगाडि बढ्नका लाथि चार हजारसम्म शेयर पुर्याउने निर्णय बैठकले गर्यो । केही साथीहरू निर्णय अनुसार अघि बढ्नु भयो, केहीले चाहनु भएन । अर्को वर्षसम्म आइपुग्दा थप ३५ हजार पाउण्ड ऋण लागि सकेको थियो । पत्रिकाको आर्थिक अवस्था झन खराव हुँदै गएपछि धेरै शेयर होल्डर साथीहरू बाटोखर्च लिएर आआफ्नो बाटो लागे ।
धेरै साथीहरू बाटो लागे पनि हरिकुमार गुरुङ काजीले खुट्टो कमाएनन् । उनी एक रातका लागि एभरेस्ट टाइम्सको पूर्ण मालिक बनेको अस्ति जस्तो लाग्छ । तर आज १० वर्ष पुगिसकेछ । काजी र अहिलेका शेयर होल्डर साथीहरूसंग मैले प्रबन्ध निर्देशकको जिम्मेवारी लिने प्रस्ताव गरें । प्रबन्ध निर्देशकको जिम्मेवारी लिएपछि मैले चारवटा रणनीति तय गरें, पहिलो, व्यवस्थापकीय खर्च कटौती गर्ने, दोस्रो, बेलायतमा रहेको संघ संस्थाहरूसंग समन्वय गरेर अघि बढ्ने, तेस्रो, पाठकको चाहना र स्तर अनुसार नै समाचार सम्प्रेषण गर्ने र चौथों, व्यापार व्यवसायमा लागेका, समाजसेवी, साहित्यकार, गीत संगीत, कला र कलाकारलाई सम्मान गर्ने तथा उनीहरूसंग सम्बन्धित सामाग्रीहरू बढाउने । यसलाई प्राथमिकतामा राखेर अघि बढ्दै जाँदा परिणाम पनि सकरात्मक आयो । गत वर्षसम्म आइपुग्दा दोस्रो वर्षमा लागेको ३५ हजार पाउण्ड ऋण तिर्न सफल भयौं ।
यस अवधिमा मेजर कुल थापाको नेतृत्वमा व्यवस्थापन मण्डल, युके र नेपालको सम्पादक मण्डल, अतिथि सम्पादक मण्डल तथा उनका परिवारले व्यक्तिगत स्वार्थलाई पर राखेर, राजनीतिक स्वार्थलाई पर राखेर नैतिकताको धरातलमा उभिएर आआफ्नो जिम्मेवारी र भूमिका निभाएकै कारणले गर्दा यो ठाउँमा आइपुगेका हौँ । यही कारण दसौँ वार्षिकोत्वसव मनाउन सफल भएका छौँ । एभरेस्ट टाइम्सका सम्पूर्ण विज्ञापनदाता, ग्राहक वर्ग, संघसंस्था तथा सुभचिन्तकहरूको माया र सहयोगले नै हामीले सफलताको यो सिंडी चढ्न सकेका हौं । मेरो आफ्नै व्यक्तिगत अनुभवको कुरा गर्ने हो भने यसमा भेडा गोठालाले भन्दा दुख गरे जस्तो लाग्छ । जसरी भेडा गोठालाले रात दिन, झरी, असिना, चाडपर्व केही नभनी भेडाको हेरचाह गर्छ, बाघ, भालु र अनेक खालका विपत्तिहरूबाट जोगाउछ, त्यसरी नै एभरेष्ट टाइम्सलाई जोगाएको छु । प्रबन्ध निर्देशकको रुपमा रहेर मैले धेरै प्रकारको भूमिका निभाएको छु,, ताली खाएको छु, गाली खाएको छु ।
यो दस वर्षको अवधिमा एभरेस्ट टाइम्सले नेपालमा संघीयताको मुद्दा पेचिलो बन्दै गरेको अवस्थामा होस् वा आदिबासी जनजाति, दलित, महिला, मधेसी, थारू, मुस्लिम तथा पिछिडिएका विपन्न वर्गको अधकिार वहालीको सवालमा होस्, विदेशमै बसेर पनि निरन्तर रूपमा खबरदारीको काम गर्दै आएको छ । निरन्तर आदिबासी जनजाति, दलित, महिला, मधेसी, थारू, मुस्लिम तथा पिछिडिएको विपन्न वर्गको पक्षमा वकालत गर्दै आएको छ । सेवारत ब्रिटिस तथा भूपू सैनिक र उनका परिवारको हक अधिकारबारे मुद्दा उठाउँदै आएको छ । एभरेस्ट टाइम्सले धेरै पत्रकार पनि जन्माएको छ । त्यस्तै धेरै गीतकार, कवि, कथाकार तथा साहित्यकारलाई प्रोत्साहित गरेको छ । नेपाली भाषा, कला, वेशभूषालाई जगेर्ना गर्ने, संरक्षण गर्ने तथा संवद्र्धन गर्ने काम गरेको छ ।
समाज परिवर्तनका लागि लागुपदार्थ दुव्र्यसनबारे जनचेतना जगाउनेदेखि लिएर स्वस्थ जीवन जिउने तरिका, खेलकुद, व्यायम, योगाजस्ता सूचनामूलक सामग्रीहरूलाई सम्प्रेषण गरेको छ । सामाज सेवा गर्ने, व्यापार व्यवसाय गर्नेलगायत राम्रा काम गर्ने नेपालीहरूलाई अक्षरको माध्यमबाट प्रोत्साहन गरेको छ । त्यसैले म भन्छु, एभरेस्ट टाइम्सले प्रवासमै बसेर पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साथ दिँदै आएको छ । नेपाली पत्रकारहरूलाई यूके ल्याउने र यहाँको अवस्थासँग परिचित गराउने काम पनि गरेको छ ।






