रंग न ढंग

SHARE:

खिम घले
गएको बुधबार बसमा आउँदै थिएँ । कलंकीमा नपुग्दै रोकियो । घाम, धुलो र धुवाँ मठारिएको त्यहाँ बसिरहन सकिन । झरें र हिड्न थालें । कलंकीमा रोकिएको सवारी साधनको लाइन झण्डै एक किलोमिटर जति पर नैकाप पुग्नै लागेको थियो । म पनि झण्डै ५०० मिटर पर झरेर हिड्न थालेको थिएँ ।

टाढा टाढाबाट आएकाहरु म जस्तै झरेर लाइन लागेर हिंडेका थिए । कलंकी चोकमा आइपुगेपछि बल्ल थाहा भयो । भुटानका आन्तरिम सरकारका प्रमुख सल्लाहकार स्वयंभूतिर रहेको भुटानी गुम्बा गएका रहेछन् । त्यही कारण उनको जाने र आउने समयमा बाटो बन्द गरिएको रहेछ । उनी गत साता काठमाडौं उत्रिएका छ जना राष्ट्र तथा सरकार प्रमुखहरु मध्येका थिए । उनी मात्र होइन, सबै छ जनै विदेशी भीभीआइपीहरु आउँदा जाँदा र कहिकतै सवारीका बेला यसरी नै सवारी साधनहरु रोकिएको थियो । अझ काठमाडौंबासीलाई एक दिन जोर र अर्को दिन बिजोर सवारी चलाउन लगाइएको थियो ।

कलंकी भन्दा परै बस रोकिएपछि मैले हिंडेरै थापाथलीस्थित कार्यालय पुग्ने बिचारले हिड्न थालें । झण्डै सवा घण्टामा म कार्यालय पुगें अनगिन्ति प्रश्नहरुका साथ । मनमा तर्कनाहरु उठिरहे तर कस्लाई सुनाउनु । कस्लाई भन्नु के यस्तै ‘रंग न ढंग’ले हाम्रो देश अघि बढ्ला त? या केही सुधार पनि होला?

यो ‘रंग न ढंग’ भन्ने फ्रेज नेपाली गाउँघरतिर प्रयोग भएको थाहा पाएको थिएँ । अहिले मलाई पनि हाम्रो सरकारको लागि यो फ्रेज उपयुक्त हुन्छ होला भन्ने लाग्यो । कसैले केही काम गर्छ तर त्यो काम भाँती पुर्‍याएर गर्दैन भने त्यस्तोलाई ‘रंग न ढंग’ को भन्ने गरिन्छ ।

छ वटा मुलुकको भीभीआइपीहरु सहभागी हुने बिमस्टेकको सम्मेलन हुने कुरा एक दुई साताअघि तय भएको विषय थिएन । बर्र्षौंअघिदेखि बिमस्टेक सम्मेलन नेपालमा हुने कुरा तय थियो । त्यसका लागि चरणबद्ध बैठक र छलफलहरु पनि भएका थिए । नेपाल आफै बिमस्टेकको अध्यक्ष थियो । त्यसैले यसको बैठकको तयारी पनि गरिएकै हो । तर, भारत, बंगलादेश, भुटान, म्यानमार, थाइलेण्ड र श्रीलंकाका राष्ट्रपति वा प्रधानमन्त्रीको उपस्थिति रहने सम्मेलनका जुनढंगका कमजोर र फितलो तयारी हाम्रो सरकारले गर्यो । त्यसले ‘रंग न ढंग’ भन्न मान लागेको हो । कुरा गरौं फेरी पनि त्यही कलंकीदेखि थापाथलीसम्मको बाटोको । भीभीआइपी पाहुनाहरु सोल्टी होटलमा राखिएका थिए । हाम्रो राजधानी महानगरको कमजोर संरचनाले सायद ति देशमा पाहुनाहरु छक्कै परे होलान् । सायदै अहिलेको बेला यस प्रकारको भौतिक संरचनाको अपेक्षा भुटानले पनि गरेको थिएन, होला । अरुको त कुरै छाडौं ।
बिहीबार र शुक्रबार सम्मेलन थियो । मंगलबारै म्यानमारका प्रधानमन्त्री आएका थिए । बुधबार म हिडेर जाँदै गर्दा टेकुतिर भत्तामा सडकको छेउमा लगाउने कालो र सेतो धर्सा तान्दै थिए, कामदारहरु । त्यो पनि पुछपाछ गरेर होइन, हिलो र मैलो भित्तामै । त्यो रंग सुकेपछि भित्तामा रहेको हिलोले गर्दा सायदै त्यो कलो र सेतो रंगको धर्सा देखिए होलान् ।

हिड्दै आउँदा दायाँ बायाँ दुवैतिर सडक खालि गराइएको रहेछ । बटुवालाई सडक पेटीमा हिड्न लगाइयो । दुई मिटरको दुरीमा प्रहरी उभिएर बटुवालाई पेटीमा हिड्न भनिरहेका थिए । तर, सडकको पेटी नै थिएन । भएको ठाउँमा पनि दुई जना दोहोरो हिड्न मिल्ने गरी थिएन । मुस्किलले एक जना हिड्न मिल्ने थियो ।

अनि सडकका छेउछाउमा पनि ठूला ठूला खाल्ड पानी जमेर हिलै थिए । यस्तो हालतको सडकमा भीभीआइपीहरुलाई हिडाउँदा हाम्रा प्रधानमन्त्री र अन्य सरकारी अधिकारीहरुलाई लाज लाग्दो होला की नहोला भन्ने सोच्दै आयो । हामीलाई त पाहुना आउँदा घरमा अलिकति फोहोर रह्यो भने सकसक लाग्छ । सोल्टीमोडमा आइपुगेपछि एउटा नयाँ बोर्डले मेरो ध्यान खिच्यो । त्यसमा लेखिएको अंग्रेजी अक्षरको अर्थ थियो, बाटो मर्मतको काम हुँदैछ, असुविधाको लागि क्षमा । त्यसपछि भने माने हाम्रो सरकारी अधिकारीहरुको चतुर्‍याईलाई । पहिलो कुरा त्यो सडक भत्काउन थालेको म काठमाडौं फर्केपछि दुई वर्षदेखि देखिरहेको छु । बाटोको हालत उस्ताको उस्तै छ । बिमस्टेकको सम्मेलन गर्ने कुराको चर्चा चल्न थालेको पनि बर्षै बित्यो । तर, ति भीभीआइपीहरु हिड्ने बाटोलाई दुरुस्त बनाउनुको सट्टा उनीहरु आउने दिन बिहान हतार हतार एउटा साइन बोर्ड झुण्ड्याएको रहेछ । अब कुरा गरौं, सम्मेलन स्थलको । भीभीआइपी पाहुनाहरुको बस्ने व्यवस्था होटल सोल्टीमा गरिएको थियो । पछि कार्यक्रम पनि त्यही गर्ने भनियो । यसको अर्थ नेपालसंग एउटा पनि अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्ने भवन छैन भन्नु हो । तर, हुँदै नभएको पनि होइन । राष्ट्रिय सभा गृह र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यसका लागि उपयुक्त ठाउँहरु थिए । राष्ट्रिय सभागृह गत वर्ष सार्कको शिखर सम्मेलन गरेको ठाउँ पनि हो ।

सार्ककै लागि भनेर करोडौं रुपैयाँ खर्च गरेर सभागृह मर्मत समेत गरिएको थियो । एउटा होटलमा होइन, सभागृहमा सम्मेलन गरिएको थियो । तर यसपाली त्यहाँ गरिएन । होटल नै प्यारो बन्यो । सोधिएको प्रश्नको कसैले नि चित्तबुझ्दो उत्तर दिएनन् । बरु सार्कका बेला बस्दा कुर्ची भाँचिएको बताइयो । भाँचिन सक्ने कुर्चीको मर्मत गर्न नसक्ने कस्तो सरकार ? अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद बसिरहेको छ । के राष्ट्रिय गर्वको विषयमा तीन दिनका लागि संसदले त्यहाँ बैठक बस्नै नदिनु पर्ने होर? ३/४ दिन त बिमस्टेकका कारण भनेर संसदको बैठक बसेन नै । सुरक्षित र शानदार त्यहाँ बिमस्टेक गर्न नहुने र संसदले आपत्ति जनाउनु पर्ने के नै थियो र ? त्यो संसद भवन पनि त होइन, उसले पनि भाडामा लिएर बैठक चलाएको न हो ।

अर्को जात्रा गरियो रिट्रिटको । सार्कका बेला भीभीआइपीहरुलाई धलिखेल लगिएको थियो, रिट्रटका लागि । तर यसपाली सम्मेलन सुरु हुने बेलासम्म पनि कहिले धुलिखेल त कहिले गोकर्ण रिसोर्टमा लैजाने भनियो । तर, अन्तमा सोल्टी होटलमा रिट्रिट गराइयो । सरकारको काम गराईको तौरतरिका नमिलेको हो की होटल सोल्टीप्रतिको मोह हो त्यो भने बुझ्न सकिएन । अन्त्यमा गएर बोद्ध–जोरपाटीको बाटो खराव हालतमा भएको बताइयो । तर, सार्कको रिट्रिट त हेलिकप्टरबाटै भीभीआइपीहरुलाई लगेर गरिएको थियो । यही सम्मेलनमा पनि सबैभन्दा उच्च सुरक्षाको आवश्यकता महसुस गरिएको भारतीय प्रधानमन्त्री मोदीले यसअघि नेपाल भ्रमणका बेला मुक्तिनाथकोसमेत यात्रा गरेकै हुन् । कुटनीतिक हिसावले रिट्रिट कहाँ गरियो त्यसको कुनै नियम नहुन सक्छ । तर, हाम्रो अर्थतन्त्र र पर्यटनको लागि त्यसले ठूलो महत्व राख्ने कुरा थियो । खासमा रिट्रिटमा सात जना सरकार प्रमुख पुग्ने र खाने पिउने हाँसखेल गर्ने मात्र कुरा होइन, संगसंगै ति देशमा सञ्चार माध्यमहरुको आवगन र उनीहरुले गर्ने कभरेज पनि हो । राम्रो ठाउँमा भीभीआइपीहरुले फोटो सेसन गरेको फोटो तथा भिडियो तिनका देशका बासिन्दाले देखेको खण्डमा नेपालको पर्यटकीय क्षेत्रको प्रचार हुने हो ।

अर्को यस्ता सम्मेलनहरुका आफ्नै सिमाहरु हुन्छन् । तर, हाम्रो जस्तो मुलुकले यसलाई आफु अनुकुल ढाल्न सक्नु पर्दथ्यो । बिमस्टेकमा भारतको ठूलो चासो छ, राजनीतिक रुपमा । उनीहरुकै जोडबलमा यो अघि बढिरहेको पनि छ । यसमा नेपालले गर्न सक्ने भनेको यस्तो क्षेत्रीय फोरमबाट आफु अनुकुलको फाइदा लिने हो । यो सम्मेलनबाट पनि फाइदा लिन सक्ने संभावना थियो, जसलाई सरकारले वेवास्ता गर्यो । श्रीलंका र म्यानमारका राष्ट्रपति र प्रधानमन्त्रीले लुम्बिनीको भ्रमण गरे । थाई प्रधानमन्त्रीलाई पनि उपयुक्त समय मिलाइएको भए जान मन गर्थे होलान् । अनि भारतीय प्रधानमन्त्री मोदीले पनि यसअघिदेखि नै चासो देखाइरहेकै छन् ।

मलाई सम्झना छ, केही महिनाअघि पोखरा पुग्दा मुक्तिनाथ जाने भारतीय पर्यटकहरुको ठूलै घुईचो देखा परेको । खासमा मोदीले मुक्तिनाथमा पुजा गरेको र त्यसको भारतीय सञ्चार माध्यमहरुले गरेको प्रशारणको पनि त्यसमा केही अंश योगदान थियो, भारतीय पर्यटकको मुक्तिनाथप्रतिको आकर्षण बढ्नुमा ।

यही मौका पारेर भीभीआइपीहरुलाई लुम्बिनी लैजाने मात्र होइन, ति देशका सञ्चार माध्यमहरुलाई पनि संगसंगै बोलाएर उनीहरुका सरकार प्रमुखसंगै घुमाउन सकेको भए यसले लुम्बिनीको प्रचारमा कति ठूलो योगदान दिन्थे होलान् । त्यसैगरी यही मेसोमा सके सबै भीभीआइपी र प्रेसलाई नसके त्यसमा आएका भीआइपी र प्रेसलाई माउण्टेन फ्लाइटको अफरसम्म गर्न सके नेपालको पर्यटनले फड्को मार्थे होलान् । तर, यो ‘रंग न ढंग’को सरकार यस्ता हाई प्रोफाइल इभेन्टलाई आफु अनुकल बनाउन होइन, अतालिएर स्कूले बालक, बृद्ध र ज्यालमजदुरी गरेर जीविका चलाउनेहरुलाई दिनभर हिड्न लगाएर, दुख दिएर कार्यक्रम सफल पारेको स्वाङ रच्न उद्त छ ।
नेपालीमा एउटा भनाई छ, रंग न ढंग । खासमा गाउँघरतिर कसैले भाँति नपुर्‍याइ केही काम गर्‍यो भने यो शब्द समुहको प्रयोग गर्ने गरिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!