लाल पुन
फानबोरो । मगर संघ युकेले विद्यावारिधी गर्ने जेहेनदार विद्यार्थीहरुको सहयोगार्थ आगामी २४ नोभेम्बरका दिन च्यारिटी डिनरको आयोजना गर्ने भएको छ ।
मगर संघ युकेको गत ८ सेप्टेम्बर बसेको त्रैमासिक बैठकले च्यारिटी डिनर कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकमा महासचिव लालबहादुर पुन र कोषाध्यक्ष नेत्र आलेले मगर संघ युकेको त्रैमासिक प्रतिवेदन पढेर सुनाएका थिए । त्यस्तै, सहकोषाध्यक्ष होम रोकाले साउदीको जन्मकैद सुनाइएका दिलबहादुर घर्ती र कुमार रानाको उद्धारका लागि उठाइएको रकमबारे जानकारी दिँदै खाता बन्द भएको औपचारिक रुपमा जानकारी गराए ।
मगर संघ केन्ट शाखाका अध्यक्ष विजय हितानले अहिलेसम्म केन्ट शाखाले गरेका कार्य विवरण जानकारी गराउने आगामी ४ नोभेम्बरमा हुन गइरहेको एनजीएमा केन्द्रीय कार्यसमितिलाई निम्तो दिए । त्यस्तै, मगर संघ युकेका पूर्वअध्यक्ष मे. रि. कुल थापा र सल्लाहकार जगत थापाले हाउजिङ्गबारे जानकारी दिएका थिए भने विधान कमिटीका सल्लाहकार हनेरी लेप्टेन सुनिल राना र सल्लाहकार कप्तान रामबहादुर पुनले संघको विधानबारे जानकारी गराए ।
मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीले जेहेनदार विद्यार्थी सहयोगार्थ एक करोड रुपैयाँको अक्षय कोष स्थापनाका लागि आयोजना गर्न लागिएको च्यारिटी डिनरमा आपूm संयोजक रहने सबैलाई जानकारी दिए । त्यस्तै, च्यारिटी डिनरमा मगर संघ युकेका निवर्तमान अध्यक्ष दुत पुनले पनि अतिथिहरुलाई निमन्त्रणा गर्नेमा सहयोग गर्ने बताए ।
बैठकमा मगर संघ युकेका अध्यक्ष नेम थापा एक्सलट्रिप विजनेस युरोप संयोजकमा र सल्लाहकार क्याप्टेन नानीबाबु मगर ओखलढुंगा नेपाली समाज युकेको अध्यक्षमा निर्वाचित भएको शुभअवसरमा बधाई दिँदै खादा लगाई सम्मान गरिएको थियो । बैठकमा अध्यक्ष नेम थापाले अप्रिलमा हुने एनजीएभन्दा अगाडि आपूm हरेक शाखाका कार्यसमिति तथा सदस्यहरुसँग भेट्ने वचन दिए ।
मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न त्रैमासिक बैठकमा संघका केन्द्रीय महिला उपाध्यक्ष अनिता रानाले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव लालबहादुर पुनले बैठक सञ्चालन गरेका थिए ।






