लन्डन २८ अगस्ट २०२४ । सहारा युकेले बेलायत भ्रमणमा रहेका समाजसेवी, पत्रकार र कलाकारलाई सम्मान गरेको छ ।
बेलायतको अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा मंगलबार २७ अगस्ट २०२४ मा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा तमु समाज हङकङ संस्थापक अध्यक्ष तथा सहारा हङकङका सल्लाहकार कोमल गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का निवर्तमान संघीय अध्यक्ष तथा एबीसी न्यूजका सम्पादक डण्ड गुरुङ, प्रसिद्ध लोक तथा दोहोरी गायक राजन गुरुङ, उनकी श्रीमती अमृतादेवी गुरुङ, गायिका रेजिना परियार, मोडल तथा डान्सर आरुषी मगर, डान्सर अस्मिता राना र राजन कार्कीलाई सम्मान गरिएको हो ।
सम्मानितहरुलाई अध्यक्ष कृष्ण गुरुङलगायतले सहाराको लोगो अंकित गलबन्दी, प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरे । त्यसक्रममा समाजसेवी तथा तमु धीं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङले पनि समाजसेवी कोमल गुरुङ र फोनिज निवर्तमान अध्यक्ष डण्ड गुरुङलाई खादा पहिर्याएर स्वागत, सम्मान गरे ।
सम्मान ग्रहणपछि समाजसेवी कोमल गुरुङ र फोनिज निवर्तमान अध्यक्ष डण्ड गुरुङले आफूहरुलाई स्वागत, सम्मान गरेकोमा सहारा यूकेका अध्यक्षलगायत पदाधिकारी, सदस्यलगायत उपस्थित सबैलाई धन्यवाद दिँदै आपसी सहयोग आदानप्रदान गर्न तयार रहेको प्रतितबद्धता जनाए ।
सहारा युकेका उपाध्यक्ष शारदा गुरुङले सञ्चालन गरेको कार्यक्रममा सहारा युके अध्यक्ष कृष्ण गुरुङ दम्पती, निवर्तमान अध्यक्ष ले.रि. कुसाङ गुरुङ दम्पती, पूर्वअध्यक्ष कुमार गुरुङ दम्पती, उपाध्यक्ष शारदा गुरुङ दम्पती, सहारा एफफीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, तमु धीं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, लमजुङ समाज युकेका पूर्वअध्यक्ष विश्वजंग गुरुङ, सहारा युकेका सदस्य रहेका तमु धीं युकेका महासचिव डा विशाल गुरुङ, सहारा युके कोषाध्यक्ष जगत गुरुङ र कुमार गुरुङ, शिव कल्चरल कम्युनिटी सेन्टर (शिव मन्दिर)का संरक्षक रोहित गुरुङ, तनहुँ समाज युकेका संरक्षक लेख गुरुङ, सल्लाहकार कृष्ण गुरुङ, सार्दी खोला युकेका अध्यक्ष अमृत गुरुङ, डिलाउन्जका सञ्चालक तुलाराम गुरुङ, देव गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुसहितका पत्रकार, आफन्त, शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो ।
औपचारिक कार्यक्रमको अन्तिम कलाकारहरुले गीत गाउँदै र नाच्दै भरपूर मनोरन्जन गराएका थिए ।






