लन्डन ३१ अगस्ट २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेकी पूर्वअध्यक्ष तथा समाजसेवी पुनम गुरुङ ‘पौरखी नेपाल एम्बेसेडर’ बनेकी छन् ।
बिहीबार काठमाडौँमा भएको पौरखी नेपालको २२औँ साधारणसभा तथा आठौँ अधिवेशनका क्रममा बेलायत निवासी समाजसेवी पुनम गुरुङलाई पौरखी नेपाल नेपाल एम्बेसेडरका रुपमा घोषणा गरिएको हो । गुरुङलाई पौरखी दूतको प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले हस्तान्तरण गरे ।
संस्थाको लक्ष्य र मिसनलाई अगाडि बढाउनमा उनको समर्पण र उदाहरणीय सेवाको कदरस्वरूप उनलाई ‘दूत’ बनाइएको अध्यक्ष सत्राकुमारी गुरुङले जनाएकी छन् । पुनम तमु धीं आमा समूह संस्थापक अध्यक्ष र बुद्धिस्ट गुम्बा रेडिङको संस्थापक सदस्य तथा सल्लाहकारसमेत हुन् ।
पौरखी नेपालले स्थापनादेखि नै विशेषगरी वैदेशिक रोजगारीमा महिलाहरूको पक्षमा वकालत गर्दै आएको छ ।






