
लन्डन १ सेप्टेम्बर २०२४ । नेपाली कला तथा संस्कृतिले भरिपूर्ण नेपाली सांस्कृतिक कार्यक्रम, सुइन्डनस्थित फारिंगडन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाली समाज वेल्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङको अध्यक्षता अनि सुइन्डन बरो काउन्सिलका मेअर ईम्तियाज शैखको प्रमुख आतिथ्यामा गत अगस्ट ३१ तारिख शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाली समाज वेल्सायरका सचिव जेनिसा थापा र समाजका सहसचिव विष्णुकुमार गुरुङले कार्यक्रम संचालन गरेका थिए । उक्त नेपाली सांस्कृतिक कार्यक्रमलाई यति होम स्टेट, लोटरी कम्युनिटी फन्ड, नाइट क्लब द काउ, म म किङ्ग, रनर पब, पिस फुनरल सर्बिस, पिपल मोर्गेज, राजेश दाइ ग्रोसरी, ग्रेसी ज्वेलर्स, अल्ज्मेर सोसाइटी र सिंगापुर एसियन स्टोरले प्रायोजन गरेका थिए ।

विभिन्न परिकारका खाने कुराहरुको स्टल, नेपालमा बनेको विभिन्न जैविक सामानहरुको स्टलदेखि लिएर विभिन्न प्रकारका स्टलहरु पनि राखिएको थियो । सुरक्षाका लागि धेरै प्रहरीहरु पनि खटिएका थिए ।
पुलिस कोन्स्टेबल रोशनी थापा श्रीसले यदि कुनै नेपालीहरु अंग्रेजी भाषा नजानेर समस्या परेको छ भने आफूलाई तुरुन्त खबर गर्न आग्रह गर्दै मद्दत गर्न सकिने बताइन् । उनले कसैको घरमा भएको ल्यापटप, फोन, साइकलजस्ता सामानहरु चोरेको भए एउटा फम भरेपछि पत्ता लगाउन सकिन्छ भनेर फमहरु उपलब्ध गराइन् । अहिलेसम्म दुईजना नेपालीहरु पनि सुइन्डनको पुलिसमा काम गरिरहेको कुरा पुलिस रोशनी थापाले बताइन् । साथै पुलिस रोशनी थापा श्रीसले ढोकामा कुनै पनि कुराहरु किनबेच गर्दैन भनेर लेखिएको स्टिकर ढोकामा टास्नको लागि पनि वितरण गरेकी थिइन् ।
नेपाली समाज वेल्सायर सुइन्डनले सुइन्डन बरो काउन्सिल मेयरद्वारा उठाएको च्यारिटीका लागि पाँच सय पाउन्ड चेक अध्यक्ष ज्ञानप्रसाद गुरुङ, उपाध्यक्ष रन्जन मल्ल र उपाध्यक्ष तारा लिम्बुले हस्तान्तरण गरेका थिए । विभिन्न जात जातिको पहिरनहरु पहिरिएर महिला पुरुष र केटाकेटीहरु सबैले स्टेजमा प्रदर्शन गरिएको थियो ।
देउराली डान्स ग्रुप बर्मिङ्घमले अति नै उत्कृष्ट नृत्यहरु पनि गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







