
लन्डन ३ सेप्टेम्बर २०२४ । बेलायतमा रहेको लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको छ ।
लर्ड्सले उक्त खेल आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मङ्गलबार घोषणा गरेको हो । विश्व टेस्ट च्याम्पियनसिप र्याङ्किङमा सर्वोच्च स्थानमा रहेका दुई टोलीबीच जुन ११ मा ‘क्रिकेटको घर’ मा फाइनल खेल हुनेछ । सन् २०२३ मा द ओभलमा भारतलाई हराएपछि अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन बनेको थियो । न्युजिल्यान्डले सन् २०२१ मा साउथेम्प्टनमा भारतविरुद्ध प्रतियोगिताको पहिलो संस्करण जितेको थियो ।
सन् २०२३ मा सुरु भएको दुई वर्षको चक्रमा पाँच दिवसीय रातो–बल ढाँचामा उनीहरूको प्रदर्शनका आधारमा टेस्ट खेल्ने नौ देशको र्याङ्किङ गरिन्छ ।
भारत वर्तमान टेस्ट र्याङ्किङमा दोस्रो स्थानमा रहेको अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा छ । न्युजिल्यान्ड तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा छन् ।
लर्ड्स फाइनल खेल्ने दुई मुलुकको पुष्टि जनवरी २८ मा गरिनेछ ।






