
काठमाडौं १२ सेप्टेम्बर २०२४ । संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेले राजदूत नियुक्त भएमा ब्रिटिश गोर्खाहरुको समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन् ।
बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै प्रस्तावित राजदूत घिमिरेले सन् १९९७ पूर्वका ब्रिटिश गोर्खा फौजबाट सेवा निवृत्त भएका गोर्खाहरुको समस्या समाधान गर्न भुमिका खेल्ने बताएका हुन् । उनले समस्या समाधानका लागि हाल वार्ता चलिरहेको उल्लेख गर्दै गोर्खाहरुको हित संवर्द्धन हुनेगरी निष्कर्षमा पुर्याउने कामलाई आफूले प्राथमिकतामा राखेको बताए ।
उनले विकास सहायतालाई थप गराउन आफ्नो प्रयत्न रहने बताए । नेपाललाई आर्थिक सहयोग पाउने मुलुकको सूचीमा राखिराख्न पनि आफूले प्राथमिकताको काममा राखेको बताए । त्यसैगरी आर्थिक रुपमा नेपाललाई लाभ हुने काममा पनि आफूले जोड दिने उनको भनाइ छ ।
उनले भने – ‘सन् १९९७ भन्दा अगाडीका गोर्खाहरुको बारेमा जुन वार्ता अहिले चलिराखेको छ, त्यसलाई सकेसम्म चाँडो उहाँहरुको हित संवर्द्धन हुनेगरी निष्कर्षमा पुर्याउनका लागि प्राथमिकता दिन्छु । विकास सहायतालाई थप गराउने मेरो प्रयत्न हुनेछ । नेपाल सरकारको नीति बमोजिमका क्षेत्रहरुमा र उच्च प्रतिफल प्राप्त हुने क्षेत्रहरुमा ल्याउनका लागि मेरो ठाउँबाट सहजीकरण गर्नेछु । आर्थिक सहयोग पाउने मुलुकहरुको सूचीमा पर्नुपर्नेछ । निरन्तरता दिनुपर्नेछ । त्यसमा पनि मैले प्राथमिकता दिनेछु । डिसिटिएसमा भएको समस्या के हो त्यो समस्यालाई सम्बोधन गर्ने मेरो प्राथमिकता छ । त्यहाँ हुने ठुला एक्स्पोहरुमा अर्थपूर्ण सहभागिता गराउने । सम्झौताहरु गर्ने विषयलाई प्राथमिकता दिनेछु । आइटी उद्योगमा बेलायती कम्पनीहरुलाई जोड्ने ।’
विगतमा भएका सम्झौता कार्यान्वयनमा देखिएको समस्यालाई हल गर्न पनि आफूले भूमिका खेल्ने उनले बताए । घिमिरेले विप्रेषणलाई औपचारिक माध्यमबाट ल्याउने अवस्था सिर्जना गर्ने पनि बताए ।






