
– दिपा लिम्बू राई
बेलायत । नेप्लिज लेडिज ग्रुप आस्फोर्ड यूकेले अनाथ-असहाय बालबालिकाहरूलाई उच्च शिक्षामा सहयोग पुर्याउने उद्देश्यले कफी मर्निङ च्यारिटी कार्यक्रम आयोजना गरेको छ ।
शनिबार २१ सेप्टेम्बर २०२४ मा आस्फोर्डस्थित सगरमाथा टाउन हलमा च्यारिटी कफी मर्निङ आयोजना गरिएको हो । संस्थाका अध्यक्ष जया राईले कार्यक्रममा आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्दै कार्यक्रममा सहभागी सम्पूर्णलाई एकमुष्ट धन्यवाद व्यक्त गरिन् । उनले नेप्लिज लेडिज ग्रुपले नेपालमा पढिरहेको र पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावमा परेका अनाथ-असहाय बालबालिकाहरूलाई उच्च शिक्षामा टेवा पुगोस् भनेर च्यारिटी कफी मर्निङ आयोजना गरिएको बताइन् । कार्यक्रमबाट प्राप्त रकम ९६० पाउण्ड अभिभावकविहीन बालिका अविना सुनुवारको पढाइ खर्चको लागि नेपाल पठाउने जानकारी दिइन् । केही समयदेखि अविनाको पढाई खर्च नेप्लिज लेडिज ग्रुपले दिँदै आइरहेको छ ।
कार्यक्रममा संस्थाका सदस्यहरूले स्वत:स्फुर्त ढंगले चिया, कफी, जुसलगायत स्वादिष्ट नेपाली परिकारहरुको प्रायोजन गरिएको थियो । यसैगरी सहभागीहरूलाई उत्साहित गर्न भाग्यचिट्ठा (राफल ड्र) अन्तर्गत पहिलो विजेता देवकी चोङबाङ, दोस्रो धनमाया राई र तेस्रो मिनी राईले आकर्षक उपहारहरू प्राप्त गरेका थिए । भाग्योदय चिट्ठा (राफल ड्र) कार्यक्रम लेडिज ग्रुप युकेको सदस्य मेरी राईले सञ्चालन गरेकी थिइन् ।
उक्त कार्यक्रम आयोजनाको लागि सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डका अध्यक्ष डम्बर सिंघक लिम्बूले हल निःशुल्क उपलब्ध गराएका थिए ।
सन् २०१६ सालमा गठित नेप्लिज लेडिज ग्रुपमा १७ जना सदस्यहरू रहेका छन् भने उनीहरूले हरेक महिना सदस्यहरुबाट पाँच पाउण्ड रकम संस्थामा जम्मा गर्ने गरेका छन् । अहिलेसम्म नेपालको ६० भन्दा बढी असहाय बालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ । हरेक तीन/तीन महिनाको अन्तरालमा नेप्लिज लेडिज ग्रुपले उद्देश्यमूलक कफी मर्निङ्ग गर्दै आइरहेको उक्त संस्थाको संस्थापक सदस्य रेवन्ती देवानले बताइन् ।






