पोखरा २८ सेप्टेम्बर २०२४ । बेलायतवासी अन्तर्राष्ट्रिय धावक ले.रि कुसाङ गुरुङ सम्मानित भएका छन् ।
पोखरा क्लिक प्रालिले शनिबार आयोजना गरेको पर्वतीय दौड प्रतियोगिताको अवसरमा सहारा यूकेका निवर्तमान अध्यक्षसमेत रहेका लेरि गुरुङ सम्मानित भएका हुन् । उनी माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक हुन् ।
कुसाङ समाजसेवामा पनि सक्रिय छन् । सोही अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराललाई पनि सम्मान गरिएको थियो ।

पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।
पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिाक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो ।
महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरेकी हुन् । यु १६ प्रतिष्पर्धामा पोखरा–२२ का सागर देवकोटा प्रथम भए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियार प्रथम भए । उनले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गरेका हुन् । विजेतालाई जनही ७ हजारको साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
उनीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, विश्व शान्ति स्तुप समिति अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, शान्ति स्तुप समितिका सदस्य दुर्गाबहादुर गुरुङ, बुद्ध पार्क समिति अध्यक्ष राज गुरुङ (लाल), शुक्रराज माविका प्रचार्य नरनाथ बराल, कालावाङ होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गरे ।






