
लन्डन आस्फोर्ड (केन्ट) । सेवारो कलाकार संघ युकेले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा ‘हाक्पारे’, ‘पालाम’ लगायत लिम्बु समुदायमा प्रचलित भाका गुन्जिएको छ ।
शनिबार २८ अक्टोबरमा आयोजित कार्यक्रममा नेपालबाट युके भ्रमणमा आएका गायक जीवन केदेम र स्थानीय लिम्बु कलाकारहरु भक्ति आङदेम्बे, दिलु मादेन, माकसोती ओख्रावो, अन्जान राजन नेम्बाङ,भगवती थलङ, गंगा लिम्बु, हेम लिम्बुलगायतले हाक्पारे, ख्याली पालाम यालाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच) जस्ता मौलिक कला प्रस्तुत गरेर आस्फोर्डलाई लिम्बु संस्कतिमय बनाएका हुन् ।

सांस्कृतिक कार्यक्रममा आयोजित औपचारिक कार्यक्रम प्रमुख अथिति डम्मर सिङ्गक लिम्बु, सेवारो कलाकार संघ युकेका अध्यक्ष दुर्गा पाङ्माले संयुक्तरुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष काजीमान यक्सोले सेवारो कलाकार संघ युकेको गतिविधि, उपलब्धि बारेमा प्रस्ट्याउँदै कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
अथिति गायक जीवन केदेमले मन्तव्यको क्रममा लिम्ब कला, संस्कृति, संस्कार र प्रकृति पूजा गर्दै पहिचान जोगाउन सेवारो कलाकार युकेले महत्वपूर्ण भुमिका खेलेको भन्दै धन्यवाद प्रकट गरे ।

कार्यक्रमको अवसरमा संघका कार्यसमितिका सदस्यहरुलाई विभिन्न संघ संस्थाहरुका विभिन्न पदमा निर्वाचित भएका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ बेलायतकी नवनिर्वाचित अध्यक्ष बिमला सेने, किरात याक्थुङ चुम्लुङ युकेका नवनिर्वाचित उपाध्यक्ष सानु सुब्बा र सहसचिव सकुन नेम्बाङलाई सिलामसाक्मा लगाइ अध्यक्ष पाङ्माले सम्मान गरे ।
कार्यक्रममा लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, थामेन्दिङ चुम्लुङका अध्यक्ष मनमाया नेम्बाङ, किराया युकेका महासचिव गंगाराज राई, केवाईसी युके आस्फोर्ड शाखा अध्यक्ष सुन्दर लिङ्थेप, लगायतको उपस्थिति रहेको थियो ।

दुर्गा पाङ्माको अध्यक्षतामा सम्पन्न लिम्बु सांस्कृतिक कार्यक्रम औपचारिक कार्यक्रम महासचिव जय मादेम्बाले र सांस्कृतिक कार्यक्रम कोषाध्यक्ष सानु सुब्बाले सन्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बिमला सेनेले राखेका थिए ।






