
- डम्मर सिङ्गक लिम्बु
अश्फोर्ड ७ अक्टोबर २०२४ । सगरमाथा गोर्खा/नेपाली समाज अश्फोर्ड केन्टले सदाझैं यो वर्ष पनि नेपाली दशैँ/तिहार कार्यक्रम आयोजना गरेको छ ।
धार्मिक वा जातीय हिसाबले आ-आफ्नै संस्कार र संस्कृतिलाई मनाउने सबै जातजातिहरु दशैँ/तिहारको अवसरमा वर्षमा एक पटक संयुक्त कार्यक्रम गर्ने गरेको छ । यस्ता कार्यक्रमले परदेशमा रहेका सम्पूर्ण अश्फोर्ड केन्टवासीहरुलाई एकजुट गराउँछ ।
समाजका अध्यक्ष डम्मर लिम्बुको अध्यक्षतामा ५ अक्टोबर २०२४ शनिबार भएको कार्यक्रममा प्रमुख अतिथिमा स्थानीय आश्फोर्ड बरो काउन्सिलका मेयर काउन्सिलर लिन सडेर्डस र विशेष अतिथिमा सांसद सोजन जोसेफ थिए ।

अतिथिहरुमा स्थानीय सरकारका अधिकारी, काउन्सिलर, छिमेकी नेपाली समाजका प्रमुख विभिन्न जातीय तथा धार्मिक समुदायका प्रमुखहरुको उपस्थिति रहेको थियो । समाजको विशेष कार्ययोजनाभित्र पर्ने उक्त कार्यक्रमको संयोजक उपाध्यक्ष बसुन्धरा नयोंग राई तथा उपाध्यक्ष दुर्गा लिम्बु सहसंयोजक थिए ।
कार्यक्रम जम्मा ३ भागमा विभाजित गरी संचालन गरिएको थियो । पहिलो- छोटो समयको लागि औपचारिक कार्यक्रम गरिएको थियो । दोस्रो – कार्यक्रममा विभिन्न जातीय झाँकी नेपाली गीत वा नृत्य प्रदर्शन थियो भने यस भागमा नेपालीबाहेक अन्य अंग्रेजी हिन्दी भाषिक प्रदर्शनीलाई मान्यता दिइएको थिएन तर तेस्रो चरणमा हुने कक्टेल डान्समा भने जुनसुकै अन्तर्राष्ट्रिय भाषामा भए पनि मान्य भएको थियो ।
मनोरन्जनात्मक सम्पूर्ण कार्यक्रम समाजका सांस्कृतिक सचिव ओम मगर, युथ समितिका अध्यक्ष शिखर लिम्बुले संचालन गरेका थिए । सगरमाथा गोर्खा/नेपाली समाज आधिकारिक रुपमा यहाँका अग्रजहरुले २००४ सालमा स्थापना गरिएको हो र यो समाजले सम्पूर्ण नेपालीहरुको हितका लागि “आजको नेपाली सदाको नेपाली” भएर सबै नेपाली जाति भाषिक धर्म संस्कार र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्नको लागि एउटै छातामुनि गोलबन्द भएर बस्नको लागि स्थापना गरिएको अध्यक्ष डम्मर लिम्बुले आफ्नो मन्तव्यमा बताएका थिए ।

सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्ट नेपाली परम्परा, संस्कार र संस्कृति बचाएर राख्नु पर्दछ भन्ने कुरामा अडिक छ । यस समाजले आश्फोर्डमा आफ्नो नेपाली परम्परा, संस्कार र संस्कृतिलाई जिवन्त गराउनको लागि आफ्नो कम्युनिटी हल किन्न लागि परेको रकम पनि संकलन गरिसकेको छ र साथसाथै स्थानीय काउन्सिलसँग सहयोगको लागि समाजले पहल गरिरहेको छ।
आश्फोर्ड केन्टमा नेपालीहरुको धेरै बाक्लो बसोबास भैसकेको छ । यहाँ समाजलाई जानकारी भएअनुसार १५ भन्दा धेरै थरिका मानिसहरुको बसोबास रहेको अध्यक्ष लिम्बूले बताए । उनीहरु जातीय हिसाबले आ-आफ्नो जातीय संगठनभित्र भए पनि नेपाली भएको नाताले सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्टको एउटै छातामुनि गोलबन्द भएर बसेका छन् । उनीहरु एकले अर्काको धर्म, संस्कार, संस्कृति र परम्पराप्रति सम्मान गर्दछन् । समितिले त्यस दिनको सम्पूर्ण कार्यक्रम बेलुकी ६ बजे सुरु भई राति ११ बजे समाप्त गरेको थियो ।






