

लन्डन १९ अक्टोबर २०२४ । ग्रेटर रसमूर नेप्लिज कम्युनिटी (जीआरएनसी) यूकेको भिक्टोरिया रोड अल्डरसटमा नयाँ कार्यालय स्थापना भएको छ ।
जीआरएनसीले भिक्टोरिया रोडमा भाडाको भवनमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो । शनिबार १९ अक्टोबर २०२४ का दिन एक कार्यक्रमबीच सांसद एलेक्स बेकर, रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा र संस्थाका अध्यक्ष मान गुरुङले नयाँ कार्यालय उद्घाटन गरे । महासचिव सुशीला थापाले पावर प्वाइन्ट प्रेजेन्टेसनमार्फत संस्थाबारे जानकारी गराएकी थिइन् । स्वागत मन्तव्य उपाध्यक्ष विशाल गुरुङले राखेका थिए । काउन्सिलर ग्यारेथ विलियम्स, मेयर तथा सांसदले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सुरुआतमा पण्डित र लामागुरुले स्वस्तिवाचन गरेका थिए । सचिव सुनिल रानाले कार्यक्रम सञ्चालनका साथै स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । सहभागीका लागि खाना र पेय पदार्थको प्रबन्धसमेत गरिएको थियो ।






