
लण्डन २० अक्टोबर २०२४। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिका मेयर हर्क राज साम्पाङ राईलाई स्वागत तथा सम्मान गरेको छ । आइतबार २० अक्टोबरका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाई स्वागत तथा सम्मान गरिएको हो ।
दुई बर्ष अघि सम्मान स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमालेलगायत दलका उमेद्वारहरुलाई पछि पार्दै स्वतन्त्र उमेद्वार हर्क साम्पाङ अत्याधिक बहुमतले मेयर पदमा विजयी भएका थिए । आफ्नो पदभार सम्हालेदेखिनै जनताका समस्यालाई प्राथमिकतामा राखी नगर विकासमा खरो उत्रन सफल मेयर साम्पाङलाई बीसीसी युकेले स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी युकेको स्थापना, यसले भक्तजनहरुलाई दिदै आएको विभिन्न सेवाको जानकारी गराउँदै मेयर साम्पाङलाई न्यानो स्वागत गरे । सो अवसरमा अध्यक्ष गुरुङले मेयर साम्पाङले संचालन गर्दै आएका विभिन्न प्रोजेक्टका लागि एक लाख रुपैया सहयोग प्रदान गरे ।
उक्त स्वागत कार्यक्रममा मेयर साम्पाङले दीप प्रज्ज्वलन गर्दै पवित्र ठाउँमा गर्न पाएको महत्वपूर्ण भेटघाट र पाएको समय तथा सम्मानका लागि बीसीसी युकेलाई धन्यवाद दिदैं बुद्धको शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
बीसीसीले गत ३ दिनदेखि संचालन गर्दै फोवा अभ्यासका भक्तजनहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा शेछेन गुम्बाका दोर्जीन लुङ्गरिक रिन्पोछे, बीसीसी गुम्बाका प्रमुख लामा खेन्पो शेनाङ्ग तामाङ्ग, लोपेन दावा, लोपेन नोर्बु, लामा हर्कजंग, लामा प्रदीपलगायत धर्म गुरुहरुको उपस्थिति रहेको थियो । त्यस्तै, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ एमबीई, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ्ग, बीसीसी युके लण्डन शाखा प्रमुख गोपाल तामाङ्ग, पूर्व आमा प्रमुख पुष्प गुरुङ, पूर्व आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरु, सल्लाहकार तथा पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।
स्मरण रहोस्, बीसीसी युकेले ३ हप्ता अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, प्रवक्त ज्ञानेन्द्र शाहीलगायतलाई समेत स्वागत तथा सम्मान गरेका थिए ।






